पोखरा असार २९, विनोद शर्मा

तनहूको चुँदी रम्घामा वि सं १८७१ असार २९ गते अर्थात आजकै दिन भानुभक्त आचार्यको जन्म भएको थियो । आचार्यका बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, जस्ता कृति धेरैले मन पराएका छन् । आदिकवि आचार्यले संस्कृतभाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । रामायणका श्लोक गाउँघर, पानी पँधेरा तथा पानी घट्टमा समेत गुञ्जने गर्दछन् । घाँसीको कुवा खन्ने अनुकरणीय कार्य देखेर सामाजिक कार्यमा लाग्नुभएका भानुभक्तले नेपाली भाषा र साहित्यको ठूलो जग हाल्ने काम गरेको भाषाविदहरु बताउँछन् ।
दिवसको अवसरमा पोखरा विश्वविद्यालय साहित्य समाजले पनि कवि गोष्ठीको आयोजना गरेको छ । अघिल्लो वर्ष १ सय ९८ औं जन्मजयन्तीको दिन स्थापना गरिएको साहित्य समाजले प्रथम वार्षिकोत्सवका अवसरमा कवि गोष्ठी आयोजना गरिएको समाजका अध्यक्ष सुवास मल्ले जानकारी दिनुभयो । कार्यक्रममा विम्व कवि रमेश श्रेष्ठका साथै पोखरा, लेखनाथ तथा पोखरा विश्वविद्यालयमा अध्ययनरत करिब १ सय जना साहित्यिक श्रष्टाहरुको सहभागिता रहने समाजले जनाएको छ ।
आगलागीका कारण भग्नावशेषमा परिणत भएको तनहुँको चुँदीरम्घामा रहेको भानुभक्तको जन्मघर शिखर कटेरी भने अझैसम्म निर्माण हुन सकेको छैन । २०५५ सालमा पून निर्माण भएको भानुभक्तको जन्मघर शिखर कटेरी २०६० सालमा वनमा लागेको आगलागीका कारण भग्नावशेष बनेको छ । शिखर कटेरी वनाउन सरकारले सहयोग नगरेको भानुजन्मस्थल विकास समितिका कार्यकारी निर्देशक नविन दाहालले वताउनुभयो ।
तनहुँको घाँसिकुवा गाउँ विकास समिति वडा नम्बर ५ मा रहेको भानु घांसी स्मारक पार्क संरक्षण विहिन अवस्थामा छ । सम्बन्धित निकाय र स्थानीय बासिन्दाले समत चासो नदेखाउँदा पार्क संरक्षणविहिन अवस्थामा पुगेको हो । उक्त पार्कमा रहेका भानु र घांसीको अर्धकदको सालिक, घांसीले बनाएको कुवा, सयन केन्द्र, प्रतिक्षालय संरक्षणको अभावमा भत्कन सक्ने अवस्थामा छन् । पार्क व्यबस्थापन समितिका अध्यक्ष मोती कुमार श्रेष्ठले भने पार्कलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न आफुहरुले पहल गरिरहेको बताउनुभएको छ ।
No comments:
Post a Comment