Thursday, June 13, 2013

जुम्लामा ट्राफिक प्रहरीद्धारा ११ महिनामा झण्डै २ लाख राजश्व संकलन

विनोद शर्मा, जुम्ला जेष्ठ ३१ : जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले यस आर्थिक वर्षको ११ महिनामा पौने २ लाख रुपैंयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । २०६९ सालको साउनदेखि २०७० को जेठ मसान्तसम्ममा १ लाख ८५ हजार ५ सय ९० रुपैंयाँ राजश्व संकलन गरेको हो । 

११ महिनामा १ हजार ९६ जना चालक बारवाहीमा परेकोमा उक्त राजश्व संकलन भएको प्रहरी सहायक निरीक्षक अमर थापाले जानकारी दिनुभयो । सबैभन्दा बढी राजश्व यही जेठ महिनामा संकलन भएको उहाँको भनाइ छ । जेठ महिनामा कार्यालय स्थापना भएको समयदेखि अहिलेसम्मकै धेरै अर्थात २६ हजार ३ सय ५० रुपैंयाँ संकलन भएको छ ।

 बैशाख महिनामा २४ हजार १ सय रुपैंयाँ र चैत महिनामा २३ हजार ४ सय ५० रुपैंयाँ संकलन भएको उहाँको भनाई छ । सबैभन्दा कम राजश्व भदौमा १० हजार ३ सय ५० र कात्तिकमा १० हजार ४ सय रुपैंयाँ संकलन भएको थापाले बताउनुभयो । 

कार्यालयले अवैध रुपमा सञ्चालनमा आएको आशंकामा ११ वटा मोटरसाइकललाई थप अनुसन्धानका लागि क्षेत्रीय टाफिक प्रहरी कार्यालय नेपालगञ्ज पठाएको छ । त्यस विषयमा रिपोर्ट आइनसकेको बताउँदै उहाँले चोरीका यातायात प्रयोगमा नल्याउन सबैलाई आग्रह गर्नु भएको छ । 

यसैबीच, जुम्लामा यस आर्थिक वर्षको ११ महिनामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । यो अवधिमा २८ वटा दुर्घटना भएकोमा ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक अमर थापाले बताउनु भयो । 

Saturday, January 19, 2013

प्रेमी प्रेमीका बीचको कुरा (गीत मार्फत)


केटा : जिम्मेवारी बोकेर पुरा गर्न जाँदैछु
कमजोर हुन्छु म नझार आँशु
करे देशका लागि बाँचे तिम्रै हुँ ।
केटी : यी आँखाले तिमीलाई वरिपरी खोज्छ
संसारै अँध्यारो शुन्य शुन्य लाग्छ
चाहिन्न धन सम्पत्ती माया भए पुग्छ ।
केटा : एउटा हिउँद पर्खिनु, अर्को साल आउँछु
तिम्रो खालि सिउँदो यही हातले रंगाउँछु
बाँचे सपना पुरा हुन्छन् हामी दुईको
मरे रणभूमिमा लिउँला जुनी अर्को ।
केटी : डर लाग्छ मनमा तिमी साथ नहुँदा
बढ्छ यो ढुकढुकी एक दिन नभेट्दा
खै कसरी कुरौं सिँगै हिउँद मैले
मर्छु तिम्रै काखमा बरु लैजाउ ऐले ।


Friday, December 21, 2012

भाग खोसेको छैन ..... (गीत)

भाग खोसेको हाइन बाटो रोकेको छैन
मान्छे सग्लै छ लैजाउ नाता जोडेको छैन ।

हाँस्दै बोल्दै खेलेर ठट्टा रमाइलो गरेको
छैन कहिल्यै यो मनले गलत नजरले हेरेको ।
मलाई मन पराउँछिन् संकेत पाएको छैन
सँगै जिउने सँगै मर्ने कसम खुवाएको छैन ।

साथीको जस्तै व्यबहार गरिन्थ्यो सँगै हुँदा’नी
छुने त आँट आएन काखैमा बसेर रुँदा’नी ।
आफ्नै बनाउन मैले जोड बल गरेको छैन
खाली छ उनको सिउँदो सिन्दुर भरेको छैन ।

विनोद शर्मा ‘सानुभाइ’ २०६९/०८/०६

Wednesday, December 12, 2012

आंशु र मेरो सम्बन्ध ........(गीत)


आंशुसँगै बग्ने छैनन् मेरा मनका सपनाहरु
मेहनतले आकार दिन्छु साकार हुन्छन् आफैं बरु ।

खसाल्थे ढिक्का आँखाले सानै पिडा किन नहोस्
हुन्थ्यो टिलपिल परेली अरुले नैं दुःख पाओस् ।
दुःखको साथी ठानेर सकुन्जेल रुन्थें म त
मनको तनाव सारा पखालिन्छन् भन्थें पो त ।


आँखा सुख्खा भएपछि यसको मुल्य थाहा भो
छँदैछ बगोस् न ठान्थें रोग थपिंदा डाहा भो ।
अगाडि बढ्न दिंदैन पाइला छेक्छ आंशुले
गुम्न दिन्न म सवथोक बाटो नैं थुन्छु आफैंले ।

विनोद शर्मा ‘सानुभाइ’ २०६९/०८/२७

Friday, December 7, 2012

गीत ........ (माटोको सुगन्ध प्यारो)



माटोको सुगन्ध प्यारो, प्यारो छ फूलको सुवास
न्यानो छ घामको किरण, शितल छ जुनको प्रकाश ।

सातै रङ्गले जिन्दगीलाई रङ्गाउन पाए हुन्थ्यो
जुन तारा सवका प्यारा समिपमा आए हुन्थ्यो ।
ढिडोको गाँस मिठो, प्यारो छ पवनको साथ
म हुँ धर्तीको धुलो, भए पुग्छ खुल्ला आकाश ।

पसिना बगाउँछु बरु त्योसँगै बगाउन दुःख
छ जुनी विताउँछु म एक जुनी मिलोस् सुख ।
थोपा थोपा बटुलेर जोड्नुछ आफ्नै संसार
कांधमा कांध जोडेर सपना पार्नुछ साकार ।

विनोद शर्मा 'सानुभाइ'
२०६९/०८/१९

गजल ........... (साथि)







सुख दुःखमा साथ दिने सँगै हास्ने रुने साथी
ज्यान जति टाढा भए’नी मनले नजिक हुने साथी ।

सवै कुरा मुखले बोली भन्न सकिंदैन हजुर
जति राखोस् लुकाएर मनले मनलाइ सुने साथी ।

छोटो यात्रा एक्लै गरे’नी लामो यात्रा हुन्छ कठिन
लौरी बनि सारथी झैं पल पल सँगै हुने साथी ।

शंकालु हो मान्छेको जात ढुक्क विश्वास गर्दैन रे
छलफल गरी एक अर्कामा शंका सवै धुने साथी ।

नजिक हुँदा एक आपसमा माया प्रिती बढ्दै जान्छ
साँचो माया निस्वार्थले हृदयलाई छुने साथी ।


‘सानुभाइ’  २०६९/०८/२२

Saturday, November 10, 2012

पटका पड्काउँदा होस गरौं, नत्र ....

विनोद शर्मा / काठमाडौं,  कात्तिक 
हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार घर आँगनमा आइसकेको छ । चाडवार्डको नाममा विभिन्न बहानामा फजुल खर्च गर्नु नेपालीको पहिचान बनिसकेको छ । विशेषतः दसैं र तिहारमा जुवातास खेल्ने, अत्याधिक मदिरा सेवन गर्ने र पटकामा करोडौं रकम खर्च गरिन्छ । यी सबै खर्च अनावश्यक हुन् । मनोरञ्जनका लागि भन्दै गरिने फजुल खर्चले ठूलो धनराशी विदेशिएको छ । विशेष गरी तिहारका बेला पड्काइने पटका दसैंको सुरुवातसँगै देशमा भित्रिन्छ । सरकारले पटाका भित्रिन नदिन भन्दै विभिन्न कार्यक्रम र रणनीति लागु गरे पनि तिहारको समयमा करोडौं मूल्य बराबरका पटकाको अवैध बिक्री वितरण भैरहेको छ । पटकाको आयातले एकातिर स्वदेशी रकम विदेश पुग्छ भने अर्कोतिर पटका पड्काउँदा व्यक्तिको स्वास्थ्यमा समेत असर पुग्छ । पटका पड्काउँदा आगलागी भएको, पड्काउने व्यक्तिसमेत घाइते भएको एवं पटकाको आवाजले तर्सेर मानसिक रुपमा तनाव बेहोर्नु परेको थुप्रै उदाहरण छन् । आर्थिक, सामाजिक र शारीरिक सबै हिसाबले घातक पटकाको आयात ओसार पसार र बिक्री वितरणमा रोक लगाउनु आवश्यक छ । 
तिहारमा धेरैले झिलीमिली बत्ती बालेसँगै पटका पड्काउनुलाई नै रमाईलो मान्छन् । तर पटका पड्काउँदा सधैं सावधान हुनुपर्छ । नत्र धनजनको क्षति हुनुका साथै आफ्नो ज्यान पनि जोखिममा पर्न सक्छ । रकेट, भुईंचम्पा, आलुबम जस्ता बारुद भरिएका पटका पड्काउँदा यसबाट उत्पन्न हुने आगोका कारण धनजनको क्षति हुन्छ । पटकाले स्वयम् पटका पड्काउनेहरुलाई पनि बाँकी राख्दैन । पटकाबाट आउने आगोका कारण आँखामा र आवाजका कारणले हाम्रो कानलाई प्रत्यक्ष असर पार्छ । यस्ता घटना हरेक वर्ष हामीले सुनिरहनु, देखिरहनु र भोगीरहनु परेकोछ । त्यसैले पटका पड्काउनु परे केही सावधानी अपनाउनु पर्छ, जसले ठूलो दुर्घटना हुनबाट बच्न सकिन्छ ।
पटका पड्काउँदा ध्यान दिनुपर्ने कुराहरु :
सकेसम्म पटका नपड्काउँदा राम्रो हुन्छ । अभिभावकले पनि आफ्ना सन्तानलाई पटका पड्काउन निरुत्साहित गर्नुपर्छ । एक छिनको मनोरञ्जन दिने पटका किन्नका लागि गरिने खर्च हाम्रो देशमा बस्दैन भनेर सम्झाउनु पर्छ । त्यो रकमलाई आफ्नै गाउँ ठाउँको भलाईका लागि खर्च गर्न सकिन्छ भनेर बुझाउने हो भने उनीहरु सहमत हुन्छन् । यदी पटका पट्काउने नैं हो भने पनि केही कुरामा साबधान रहने हो भने क्षतिलाई कम गर्न सकिन्छ । 
१) आफ्ना नानीहरुलाई एक्लै पटका पड्काउन दिनुहुँदैन । उनीहरुलाई अविभावकले साथ दिनुपर्छ । 
२) पटका घरभित्र पड्काउनु हुँदैन । फुसको घर, परालको थुप्रोका साथै बालबालिका धेरै भएको ठाउँभन्दा टाढा पटका बाल्नुपर्छ । आफूले पनि अलि परैबाट पटकामा आगो सल्काउनुपर्छ । पटकामा आगो लाग्नासाथ सुरक्षित स्थानमा जानुपर्छ ।
३) पटका पड्काउँदा सधैं प्लास्टिकको चस्मा लाउनुपर्छ । जसले आँखालाई सुरक्षित राख्न सकिन्छ । 
४) पटका पड्काउने ठाउँको वरपर पानीको भाँडा राख्नु पर्छ । केही गरी आँखामा पटकाको बारुद परेमा तुरुन्तै पानीले सफा गर्नुपर्छ । दस मिनेटसम्म आँखामा पानी छयापिरहनु पर्छ । 
५) आँखामा बारुद पसेको छ भने आफैंले झिक्नु हुँदैन । चिकित्सकको सहायता लिनु पर्छ । अस्पताल वा नजिकको स्वास्थ्य केन्द्रमा जानुपर्छ । यस्तो स्थितिमा एन्टिबायोटिक ड्रप प्रयोग गर्नुका साथै कपासले आँखा सफा गर्नुपर्छ ।
६) पटकाको चोटको असर आँखाको नानीमा प¥यो भने मोतीयाबिन्दु समेत हुन सक्छ । आँखामा गम्भीर चोट लागे तुरुन्तै विशेषज्ञकहाँ वा आँखा अस्पताल जानुपर्छ । 
७) पटका  पड्काउने बेलामा पहिरनमा समेत ध्यान दिनुपर्छ । सकेसम्म खुकुलो र सिन्थेटिक कपडा लगाउनु हुँदैन । 
८) जलिरहेको पटकालाई छुनु हुँदैन, त्यो जुनसुकै बेला विस्फोट हुन्छ । कतिपय  बालबालिका बहादुरी देखाउन हातमा राखेर पटका पड्काउँछन् तर यस्तो कार्यबाट बालबालिकाहरुलाई निरुत्साहित गर्नुपर्छ ।
९) पटका हातमा नपड्कियोस् भन्ने कुरामासतर्क रहनुपर्छ । पटका पड्काउँदा अनुहारलाई सकेसम्म टाढा राख्नुपर्छ ।
१०) कहिलेकाँही बालबालिकाले सबै पटका एउटै ठाउँमा जम्मा पारेर आगो लगाउँछन् । यसले ठुलो दुर्घटना निम्त्याउँछ । अविभावक वा यसो गर्न लागेको देख्ने जो कसैले पनि उनीहरुलाई त्यस्तो गर्नबाट रोक्नुपर्छ । 
११) रकेट वा माथि आकाशसम्म जाने पटकालाई खुला स्थानमा छोड्नुपर्छ ।
१२) स–साना केटाकेटीलाई एक्लै पटका किन्न दिनु हँुदैन, खतरनाक पटका विशेष किसिमले सजाईने हुँदा उनीहरु त्यसतर्फ आकर्षित हुन्छन् । बरु सुरक्षित र सरल पटका आफैंले किनिदिनु पर्छ । 
१३) दियो र मैनबत्ती नजिकै पटका बाल्नु हुँदैन । यसबाट आगो फैलने डर हुन्छ । 
१४) ठूलो आवाज आउने पटका पड्काउनु हुँदैन, यसले कानको जाली फुट्न सक्छ जसका कारण पटका पड्काउने व्यक्ति तथा आसपासका बसेको व्यक्ति बहिरो हुने सम्भावना बढ्छ ।
१५) रकेट, अनार आदि ठूला पटका पड्काउँदा सुरक्षित हुने विधि सिक्नु पर्छ । 
१६) गाडी, मोटरसाइकल जस्ता छिट्टै आगो लाग्न सक्ने पदार्थ भएका सवारी साधनको नजिकमा बसेर पटका पड्काउनु हुँदैन । किनभने पेट्रोलले चाँडै आगो समात्छ । 
१७) पटका पड्काइसकेपछि हात राम्रोसँग साबुन पानीले धुनुपर्छ, जसले गर्दा बारुदको कण खानासँगै मुख, पेट वा आँखामा जान नपाओस् ।
यदी पटाका पड्काउने क्रममा कुनैअसाबधानीका कारण दुर्घटना भएमा घाईते अथवा पटाका पड्काउने व्यक्तिलाई गाली गर्नु, पिट्नु हुँदैन । जसका कारण उनीहरुमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढि पर्न सक्छ । उनीहरुलाई सम्झाउनु पर्छ । सकेसम्म त पटाका नपड्काउनु नै बुद्धिमानी हो । तर पनि यस्ता कुरामा ध्यान दिन सके पटकाका कारणले हुने क्षति कम गर्न र दुर्घटनालाई न्युनिकरण गर्न सकिन्छ ।