Saturday, April 21, 2012

छन्द दिवशका अवसरमा पोखरामा रचना वाचन कार्यक्रम


पोखरा बैशाख ८, विनोद शर्मा ।
आज छन्द दिवश देशभरका साहित्यकारहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन् । दिवशको अवसरमा पोखरामा रहेको माधव वियोगी बाङमय प्रतिष्ठानले रचना वाचन कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रमको साहित्यकार पद्यराज ढकालले उद्घाटन गर्नुभयो । बाङमय प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा २५ जना पोखरेली साहित्यकारहरुले छन्दमा लेखिएका रचना वाचन गरेका थिए ।

प्रतिष्ठानले २०५३ सालदेखि बैशाख ८ गतेलाई छन्द दिवशको रुपमा मनाउन थालेको भए पनि २०६७ सालदेखि मात्रै औपाचारीकता पाएको छ । २०६७ सालमा २२ वटा जिल्लामा छन्द दिवश मनाईएको थियो । यस वर्ष ३५ वटा जिल्लामा एकैसाथ दिवश मनाईएको प्रतिष्ठानका सचिव छन्दमणी त्रिपाठीले जानकारी दिनुभयो । कार्यक्रममा रचना वाचन गर्ने साहित्यकारहरुले कवितामा छन्दको प्रयोग नहुँदा त्यसको मर्म र मान्यता हराउँने बताउँदै छन्द वचाउ आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । 

उनीहरुले अहिलेको नयाँ पुस्तालाई छन्दको महत्व र प्रयोगका बारेमा सचेत बनाउँदै छन्द बचाउनुपर्नेमा जोड दिएका छन् । छन्द बचाउ अभियान सञ्चालन गरेको १६ वर्षको अवधिमा छन्द प्रशिक्षण, छन्दोबद्ध विवाह लगायतका काम भैरहेको प्रतिष्ठानले जनाएको छ । 

पोखरेली रंगकर्मीहरु संगठित हुँदै, नाटककार उदासीको अध्यक्षतामा तदर्थ समिती


पोखरा बैशाख ९, विनोद शर्मा 
रंगमञ्चको उत्थान, हाम्रो अभियान भन्ने उद्षोष सँगै पोखरेली रंगकर्मीहरु संगठित भएका छन् । पोखरा उपमहानगरपालिका १ टुँडिखेलमा रहेको राष्ट्रिय उच्च माध्यामिक विद्यालयमा आज भएको भेलाले नाटककार कृष्ण उदासीको अध्यक्षतामा २५ सदसिय पोखरा नाट्य प्रतिष्ठान तदर्थ समिती समेत गठन गरेको छ । समितीको प्रथम उपाध्यक्ष हेमन्त पराजुली, द्धित्तिय उपाध्यक्ष  घनश्याम लामिछाने, महासचिव  विष्णु गौतम, सचिव अभिमन्यु बिक्रम राणा र कोषाध्यक्षमा प्रमिला तुलाचनलाई चयन गरेको छ ।

 २०६२/०६३ सालदेखि सुस्ताउँदै गएको पोखरेली रङ्गमञ्चलाई फेरी निरन्तरता दिने उद्धेश्यले पोखरामा भेला आयोजना गरिएको हो । कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नाटककार कृष्ण उदासीले पोखरामा नाट्यशालाको अभाव र प्राविधिक सामाग्रीको व्यबस्था गर्न नसकिएकोले रङ्गमञ्च पछाडी परेको बताउनुभयो । उहाँले २०५५ सालमा पोखरामा क्षेत्रीय स्तरको नाटक महोत्सव भएको स्मरण गर्दै उहाँले फेरी पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै चलचित्रकर्मी माओत्से गुरुङले रङ्गमञ्च व्यबसायिकता नभएसम्म रङ्गकर्मी यहि क्षेत्रमा लागेर बाँच्न नसक्ने बताउँदै सरकारी तवरबाटै सहयोग हुनुपर्ने बताउनुभयो । भेलामा बोल्ने रङ्गकर्मीहरुले पोखरेली रङ्गकर्मीले नेपालकै रङ्गमञ्चमा पुर्याएको योगदानलाई निरन्तरता दिनका लागि भएको जमघटको स्वागत गरेका छन् । उनीहरुले पोखरामा नाट्यशाला निर्माण गरि रङ्गकर्मीहरु पलायन हुनबाट बचाउन सरकारले सघाउनुपर्नेमा जोड दिएका छन् । 

बालुन, घाँटु, सोरठी, भैरव नृत्य, गाईजात्रा परम्परागत लोकनाटकहरुमा गण्डक क्षेत्र चर्चित र धनी मानिन्छ । तर अहिलेको आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्ने उपकरणहरु नहँुदा, तथा खर्चिलो र संवेदनशिल भएकोले पनि नाटक साहित्य अन्य विधा जस्तो नभएको नाटककार कृष्ण उदासीको भनाई छ । नेपालको रंगमञ्चमा चर्चित गुरुकुलको विघटन पछि पोखरामा शुरु भएको प्रयासलाई वाङ्मयप्र्रेमीहरुले उत्सुकताका साथ हेरेका छन् । सात महिना लगाएर खोज्दा पोखरामा ६ सय भन्दा बढि रङ्गकर्मीहरु भेटिएको भेला संयोजक हेमन्त पराजुलीले जानकारी दिनुभयो । 

Monday, April 16, 2012

पानीघट्टबाट निकालेको विजुलीबाट नवलपरासीको रामकोट झिलीमिली

रामकोट, बैशाख ०४, विनोद शर्मा
नवलपरासीको डाँडाझेरी गाउँ विकास समितीको वडा नं. ७ रामकोटका स्थानियबासीले पानीघट्टबाट ६ किलोवाट विजुली निकालेर गाउँ झिलिमिली पारेका छन् । पानीघट्टको माध्यमबाट उत्पादन गरिएको विजुलीबाट वडा नं. ७ का २५ घर झिलिमिली भएको छ । १० किलोवाट क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि आर्थीक अभावको कारण ६ किलोवाट क्षमता मात्रै उत्पादन भएको स्थानिय शिक्षक यदु सिग्देलले जानकारी दिनुभयो ।

रामकोटका स्थानिय चतुरे सारुले स्थानिय प्रविधि, आफ्नो सीप र क्षमताको प्रयोग गरेको विद्युत उत्पादन गर्नुभएको हो । जिविको पार्जनका लागि वन कार्यक्रम एल एफ पिको २ लाख, जिल्ला वन कार्यालयबाट प्राप्त ५० हजार, सहमति सँस्थाबाट ५० हजार, गा.वि.स. बाट १ लाख, जिविसबाट १ लाख, साँसद विकास कोषबाट १ लाख, स्थानियबासीको ५ लाख बराबरको श्रमदानबाट विद्युत उत्पादन गरिएको हो ।  कुल १५ लाख रुपैंयाँको अनुमान गरिएको आयोजनाका लागि १३ लाख रुपैंयाँ खर्च भैसकेको र आर्थिक सहयोग जुटाउने काम भैरहेको शिक्षक सिग्देलले बताउनुभयो ।

स्थानिय लादिखोलाबाट २ किलोमिटर लामो कुलो बनाएर विद्युत उत्पादन गरिएको रामकोट लघु जलविद्युत आयोजनाले जनाएको छ । ढिकी जाँतोको भर पर्नुपरेको रामकोटमा डिजेलबाट चल्ने मिल पनि छैन । केहि अन्न कुटानी तथा पिसानीका लागि उनीहरु साँढे २ घण्टाको बाटो हिँडेर बुलिङटार गा.वि.स.मा जानु पर्छ । मगर समुदायको बाहुल्यता रहेको रामकोटबासीले पुरा क्षमताको विद्युत उत्पादन भएपछि गाउँमै मिल स्थापना गर्ने तयारी भैरहेको छ । आर्थीक सहयोग पाएमा पुरा क्षमताको विद्युत निकालेर अरु वडामा समेत वितरण गर्ने रकम जुटाउन सघाउँदै आउनुभएका शिक्षक सिग्देलले बताउनुभयो ।

यसैवीच, डाँडाझेरी गाउँ विकास समितीकै वडा नं. ९, ५ र ४ को लागि २७ किलोवाट क्षमताको विद्युत उत्पादन हुने भएको छ । तनहुँको दमौलीमा रहेको उर्जा विकास केन्द्रसँगको सहकार्यमा जिल्ला विकास समिती नवलपरासीको ४ लाख र श्रमदान समेत गरि ९५ लाख रुपैंयाँको योजनामा विद्युत निकाल्न लागिएको हो । विद्युत उत्पादनका लागि स्थानियबासीले ४ लाख रुपैंयाँ समेत सँकलन गरेका छन् । स्थानिय विकास मन्त्रालयको निर्देशन अनुसार २० प्रतिशत उपभोक्ता समितीले धरौटी राख्नुपर्ने भएकोले रकम जम्मा गर्ने काम भैरहेको छ ।

स्थानिय लादिखोलाबाट निर्माण गरिने विद्युतबाट तीन वटा वडाका २ सय घरधुरीले विजुली बाल्न पाउने लादिखोला पहिलो जलविद्युत आयोजनाका अध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिनुभयो । धरौटीका लागि ११ लाख ५० हजार रुपैंयाँ सँकलनका लागि समेत समस्या भएको उहाँको भनाई छ ।

Sunday, April 15, 2012

‘म सानी बेश्या’

‘म सानी बेश्या’
आफु त कुमार केटो । खै के मिलेन उमेरले २५ औं वर्ष छुँदा समेत विवाह भएको छैन । घरकाले काम गर्ने वुहारी चाहियो कान्छा अव त विवाह गर्नुपर्छ भन्दा पनि पाँचौं पटकसम्म बेला भएको छैन भन्दै टारियो । आफैंले पनि विवाह गर्नका लागि केटि हेरेको छैन । हुन त आजसम्म कसैसँग लभ परेको पनि होईन । कसैले आफुलाई पत्याएनन् भन्नु पर्ला । आफ्ना केहि प्रयास असफल भएपछि ।

फेरी काम पर्यो पत्रकारीता । २०६५ सालदेखि शुरु गरेको, आजसम्ममा काठमाण्ठौंदेखि कर्णाली अञ्चलसम्म पुगें । त्यसपछि तराईको नवलपरासी हुँदै नेपालकै सुन्दर र रमणीय शहर पोखरासम्मको अनुभव बटुल्ने मौका पाएँ । तर कसैसँग नजिक भएर मायाप्रिती साटासाट गर्ने मौका मिलेन ।

किशोरावस्था काटेर अलिक माथी चढ्दै गर्दा मनमा भने कता कताबाट शारिरीक सम्पर्कको अनुभव बटुल्ने सोचले पिरोल्दैथियो । एक मनले त अव विवाह गर्नुपर्छ भन्ने लोगेको हो । तर आयो कुरा पत्रकारीता पेशाको । एक त यो पेशा साँच्चै व्यबसायिकता नभैसकेको अवस्था छ । उता फेरी यस पेशाको कमाईले आफ्नो जीवन धान्ने की अरुलाई पनि । म अन्यौलमा थिएँ । कमाई नभएकै त भन्न मिल्दैन । पोखरामा बसेर मासिक १२ हजार रुपैंयाँ कमाउँछु । तर अर्को चिन्ताको विषय पत्रकारहरु दिनदिन असुरक्षित भैरहँदा म पनि देशमा सँविधान आएर अलि सुरक्षित भैसकेपछि मात्रै विवाह गर्छु भन्ने सोचेको हो । किन असुरक्षित पेशामा लागेको भन्नुहोला । मेरो रुची पनि र यहि क्षेत्रमा केहि गर्न सक्छु जस्तो लागेर हो मैले यता काम शुरु गरेको ।

अहिले म पोखरामा छु । क्षेत्रीय स्तरको नेटवर्क बनाएको रेडियोमा कार्यक्रम संयोजकको भूमिकामा । पोखराको विशेषता तपाईलाई पनि थाहा होला । मैले भन्ने पर्दैन ।

ए म त मेरै कुरा पो गरिराखेछु । नयाँ वर्षको पहिलो दिन, केहि नयाँ गरौं न भनेको एउटा साथीलाई । उसले त तेरो कुमारत्व भँग गरिदिउँ ? पो भन्यो । मैले ठट्टा होला भन्ने सोचें । तर साँझ परेपछि चिया खान बोलायो । काहाँ हो भनेको त अड्डामा छु यहि आईज पो भन्यो । कस्तो अड्डा होला भन्दै निस्कें अफिसबाट । सभागृहबाट केहि पश्चिमतीर लागेको केटो त बाटैमा बसेको रहेछ ।

साथीले चिया खान भन्दै सामान्य घरमा रहेको चिया पसलमा लग्यो । अन्दाजि १५ वर्षकी वहिनीले स्वागत गरिन् । दाई के खानुहुन्छ ? भन्दा मलाई त मेरी भतिजी जस्तै लाग्यो । उनको पहिरन सामान्य तर केहि आधुनिक भने थियो । मैले पहिले चिया ल्याउन त भनें । साथीले चिया चिसो है भन्यो । मैले चिसो चिया भन्नेसम्म त बुझेको थिएँ, नयाँ वर्षको दिन ठिकै छ नी त भनेर केहि बोलीन । पहिले मैले नाम सोधें । उनकै कुरा गर्न लागेको नाम भने परिवर्तन गरेर लेख्छु है ? उनले आफ्नो नाम विनीता भनिन् । मैले अरु कुरा त सोधिन । उनले आफैं तनहुँबाट आएर २ वर्षदेखि काम गरिरहेको बताईन् ।

विनीता भित्र पसेपछि साथीले मोज गर्छस् भनेर सोध्यो । मैले कस्तो मोज भनें । उसले यहि नानीसँग रात विताउने हो ? भन्यो । म त एक पटक अन्योलमा परें उसको यो कुरा सुनेर । मेरो भतिजीकै उमेरकी व्यक्तिसँग त्यस्तो सोच्न मिल्छ भनेर झपारें । उसले त विनीतालाई पहिला देखि नैं चिन्दो रहेछ । साथीले उसले यस्तो काम गरेकै १ वर्ष भैसकेको बतायो भन्यो ‘अहिले त उसकै माग छ, त्यहि भएर त मालिकले पनि महिनाको १० हजार दिईरहेको छ, । म अव सोच्न बाध्य भएँ ।
क्रमश :
सानुभाइ 2069/01/04

Thursday, April 12, 2012

पोखरामा फेवा नव वर्ष महोत्सवको रौनक, आज पर्यटक दौड तथा आतसवाजी

पोखरा चैत्र ३०, विनोद शर्मा
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा पोखरामा जारी नवौं फेवा नववर्ष महोत्सव अन्तर्गत आज भएको पर्यटक दौडमा इजरायलका हरेल विजमेन प्रथम भएका छन् । लेकसाईडको छहारीदेखि शुरु भई महोत्सवस्थल बसुन्धरा पार्कमा पुगेर टुङिगएको दौडमा आयरल्याण्डका क्याथल बुर्गा द्वितीय भए भने जर्मनीका फ्लोरियल नेहरिङ तृतीय भएका छन् । यसैगरी महिला तर्फको मुल्यांकनमा बेल्जियमकी एलिना टाइमरम्यान्स प्रथम, न्युजिल्याण्डकी भिक्टोरिया ग्रिफन द्वितीय र बेलायतकी इमिली क्यारभेन तृतीय भए । 

प्रतियोगितामा कूल ६० विदेशी पर्यटकले भाग लिएको पर्यटक दौडका संयोजक माधव भण्डारीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई काठमाडौं पोखरा रुटको हवाई टिकटको व्यवस्था गरिएको छ । यसैगरी दोश्रो हुनेलाई अन्नपूर्ण प्याराग्लाईडिङबाट ४५ मिनेटनको उडान र तेश्रो हुनेलाई ग्रिनल्याण्ड टुर्सबाट काठमाडौं सम्मको वस टिकट पाउने छन् ।

महोत्सवमा अहिले बद्री पँगेनी, पशुपति शर्मा, दुर्गा रायमाझी तथा माण्डबी त्रिपाठीले साँस्कृतिक प्रस्तुती गरेका छन् । आजै नेपालकै सबैभन्दा होची महिला मञ्जु रेग्मीको नृत्य तथा हाँस्य कलाकार मनोज गजुरेलको हाँस्य प्रहशन गर्नुभएको क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विप्लव पौडेलले जानकारी दिनुभयो । अहिले लाईभ ब्याण्ड अन्तर्गत ११ः ३० बसन्त ब्याण्ड र दिव्या सुब्बाको प्रस्तुती गरिरहेका छन् । महोत्सवकै अवसरमा आज लेखनाथ नगरपालिकाका सम्पन्न भएको जोडी डान्सका विजेतालाई पुरस्कृत गरिएको छ । नयाँ वर्षको पुर्वसन्ध्यामा आज राती १० वजे र १२ वजे महोत्सवस्थलमा आतसवाजी गरिने छ भने भोली नयाँ वर्षको उपलक्ष्यमा राती आठ वजे आतसवाजी गरिन्छ । 

आजै राती नेपाल टेलिभिजनले दश वजेदेखि १ वजेसम्म महोत्सवबाट प्रत्येक्ष प्रसारण गर्ने भएको छ । उक्त कार्यक्रमका लागि सुगम पोखरेल, प्रमोद खरेल लगायतका गायक, गायिकाले आ आफ्नो प्रस्तुती गर्नेछन् । महोत्सवको दोश्रो दिनसम्ममा १० हजार भन्दा बढि टिकट बिक्रि भएको र २० हजार जनाले महोत्सव अवलोकन गरेका सँयोजक भरतराज पराजुलीले जानकारी दिनुभयो ।

फेवाताल बचाऔं भन्ने नारासँगै पोखरामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै पोखराका प्राकृतिक र साँस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुर्याउने उद्धेश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । नवौंपटक आयोजना गरिएको महोत्सवमा पर्यटन, संस्कृति र खानालाई बिशेष महत्व दिईएको छ । बैशाख २ गतेसम्म चल्ने महोत्सवमा खानाका १५ वटा तथा पर्यटन, व्यबसायिक र सामाजिक २५ गरि ४० वटा स्टल राखिएको छ । 

महोत्सव अवधिभर लेकसाईडका होटलहरुमा स्वदेशी पर्यटकका लागि बस्नमा ३० प्रतिशत र खानामा १० प्रतिशतसम्म छुट दिईएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विप्लव पौडेलले बताउनुभयो । महोत्सव अवलोकनकर्ताहरुलाई प्रतिव्यक्ति ५ हजार ५ सय रुपैंयाँ शुल्कमा हेलिकोप्टर मार्फत पोखरा आसपासका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्ने सुविधा पनि आयोजकले मिलाएको छ ।

Wednesday, April 11, 2012

प्राकृतिक चिकित्सालय विश्वविद्यालय बन्दै

पोखरा चैत्र २९, विनोद शर्मा
नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा र योग विषयको अध्यापन शुरु गर्दैछ । चिकित्सालयलाई नेपालकै पहिलो प्राकृतिक चिकित्सा विश्वविद्यालयका रुपमा विकास गर्ने लक्ष्य अनुसार यस वर्षदेखि शिक्षण अस्पताल भवन निर्माण गर्न लागिएको हो । शिक्षण अस्पताल भवनको यहि बैशाख २ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गर्नुहुने चिकित्सालयका कार्यकारी निर्देशक हरि सापकोटाले जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्ष २०७५/०७६ सम्ममा विश्वविद्यालयका रुपमा अध्यापन तथा स्वास्थ्य उपचारसेवा प्रदान गरिने कार्यकारी निर्देशक सापकोटाले बताउनुभयो । भवन निर्माण सम्पन्न भएपछि प्रमाणपत्र तहदेखि स्नातक तहसम्म प्राकृतिक चिकित्सा र योग विषयको अध्यापन शुरु गरिने चिकित्सालयका सहायक सुपरिटेण्डेन्ट डा. चन्द्रकान्त सुवेदीले जानकारी दिनुभयो । प्राकृतिक चिकित्सा पद्धतिमा प्रकृतिमा उपलब्ध आकाश,  वायु, अग्नी, जल एवं पृथ्वीद्धारा उपचार गरिने भएकोले रासायनिक तत्वबाट हुने नकारात्मक पुर्ण रुपमा बच्न सकिन्छ । 

चिकित्सालयमा अहिले ६० शैया छ भने ३ सय शैया पुर्याउने लक्ष्य राखिएको सहायक सुपरिटेण्डेन्ट डा. सुवेदीले बताउनुभयो । दश विगाहा क्षेत्रफलमा फैलिएको चिकित्सालयको जग्गालाई एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारले भोगाधिकार प्रदान गरेको छ । नेपाल सरकारले आयुर्वेद, होमीयोपेथीक, युनानी, एलोपेथीक र प्राकृतिक चिकित्सालाई मान्यता दिएपनि एलोपेथीक पद्धतीलाई मात्रै प्राथमिकतामा राखेको छ । चिकित्सालयका कार्यकारी निर्देशक हरि सापकोटाले सरकारले एलोपेथीक चिकित्सा पद्धतीमा खर्च गर्ने एक चौथाई वजेट प्राकृतिक चिकित्साका क्षेत्रमा खर्च गरे सम्पुर्ण नेपालीलाई न्युनतम शुल्कमा उपचार गर्न सकिने दावी गर्नुभएको छ । 

२०६७ सालको बैशाख १ गतेदेखि रजहरबाट उपचार सेवा शुरु गरेको चिकित्सालयमा क्षमताभन्दा बढि बिरामी आउने गरेका छन् ।