Sunday, March 25, 2012

त्रि.वि.द्धारा नेपालकै एकमात्र श्रव्य पुस्तकालयलाई २ जनाको दरबन्दी स्विकृत

चैत्र १२ गते पोखरा, विनोद शर्मा ।
पोखराको पृथ्वी नारायण क्याम्पसमा सञ्चालन भैरहेको नेपालकै एकमात्र श्रव्य पुस्तकालयलाई त्रिभुवन विश्वविद्यालयले २ जनाको दरबन्दी स्विकृत गरेको छ । दृष्टिविहीन विद्यार्थीलाई लक्षित गर्दै नेत्रहिन संघ कास्कीले २०६१ सालदेखि पृथ्वी नारायण क्याम्पसमा सञ्चालन गर्दै आएको श्रव्य पुस्तकालयमा विश्वविद्यालयले चैत्र पहिलो हप्ता दरबन्दी स्विकृत गरेको हो । पुस्तकालय सञ्चालनमा आएको सात वर्षपछि गतवर्ष मात्रै त्रिभुवन विश्वविद्यालयले श्रव्य पुस्तकालयलाई २ जनाको दरवन्दी दिएको थियो । 

दरवन्दी स्विकृत भएपछि केहि दिनमै उक्त दरबन्दीमा पदपुर्ती गरिने नेत्रहिन संघ कास्कीका कार्यक्रम संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । नेत्रहीन संघ कास्कीले क्याम्पससँग सम्झौता गरि २०६१ सालमा पश्चिमाञ्चल क्षेत्रिय पुस्तकालयभित्र ४ कोठाको राष्ट्रिय श्रब्य पुस्तकालय स्थापना गरेको थियो । पुरुतकालयमा अहिले लोकसेवा आयोग अन्तर्गतको नायव सुब्बा र खरिदार तहको नयाँ पाठ्यक्रममा आधारित पुस्तकहरु उत्पादन भैरहेकोे छ ।

एउटा पुस्तक उत्पादनका लागि नैं १३ हजार रुपैंयाँसम्म खर्च हुने र पुस्तकालयबाटै कर्मचारीलाई तलव दिनुपर्ने भएपछि आवश्यकता अनुसारका पुस्तक उत्पादन गर्न सकिएको थिएन । सरकारले दरवन्दी स्विकृत गरेपछि श्रव्य पुस्तक उत्पादन गर्न सजिलो हुने कार्यक्रम सँयोजक सुवेदीले बताउनुभयो । पुस्तकालय सञ्चालनमा आएको सात वर्षसम्म पनि सरकारले कुनै सहयोग नगरेको बताउँदै सँयोजक सुवेदीले पुस्तकालयलाई वार्षिक वजेट विनियोजन गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।

नेत्रहिन सँघ कास्कीको पुस्तकालय सरकारलाई नैं हस्तान्तरण गर्ने योजना छ । पुस्तकालय नहुँदा ३०/३५ प्रतिशतको हाराहारीमा दृष्टिविहीन विद्यार्थी उत्तिर्ण हुने गरेकोमा अहिले ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरेको नेपाल नेत्रहिन सँघको केन्द्रिय कार्यालयको तथ्यांक छ । पुस्तकालयका लागि क्याम्पसले निशुल्क स्थान उपलव्ध गराएको छ भने हरेक वर्ष क्याम्पसमा भर्ना हुन आउने विद्यार्थीबाट प्रति विद्यार्थी १० रुपैंया संकलन गरि एकजना कर्मचारीलाई पारिश्रमिकको व्यबस्था गरिएको क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोईरालाले जानकारी दिनुभयो ।

कक्षा ८ भन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरुको पाठ्यपुस्तक ब्रेललिपीमा प्रकासित नहुने भएकोले पुस्तकालयले माथिल्लो तहका विद्यार्थीका पाठ्यपुस्तक, लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगका पुस्तक उत्पादन गरेर देशभर वितरण गरिरहेको छ । नेपालभर विद्यालय र क्याम्पसमा गरि १ हजार दृष्टिविहिन विद्यार्थी अध्ययनरत रहेको नेपाल नेत्रहिन संघको तथ्यांक छ । यसमध्ये ८ कक्षा भन्दा माथिका ८ सय ५१ जना विद्यार्थी अडियो पुस्तकालयको सम्पर्कमा रहेको कास्की नेत्रहिन संघले जनाएको छ ।

Saturday, March 24, 2012

क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण तत्काल थाल्न पोखरेलीको माग

चैत्र ११, पोखरा, विनोद शर्मा ।
पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य छिटो शुरु गर्न पोखरेलीले माग गरेका छन् । पोखरामा क्रियाशिल ५० भन्दा वढी संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर, विमानस्थल निर्माण सम्वन्धमा उठेका प्रसंगलाई चाँडो टुंगो लगाई काम अगाडि वढाउन माग गरेका हुन् । विमानस्थल निर्माण सम्वन्धमा दिउँसो भएको छलफलमा सभासद् राजकाजी गरुङले, प्रक्रियागत त्रुटि देखाएर पोखरामा क्षेत्रीय विमानस्थल निर्माणको काम रोकिनेमा आशंका व्यक्त गर्नुभयो । सार्वजनिक लेखा समितीले विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने क्रममा प्रक्रियागत कमजोरी भएको भन्दै सरकारलाई सचेत हुन निर्देशन दिएपछि, गुरुङले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

चिनिया सरकारको जमानतमा एक्जिम बैंकले पोखरामा विमानस्थल निर्माणको लागि नेपाल सरकारलाई १४ अर्व रुपैयां अनुदान दिने घोषणा गरेपछि सरकारले टेण्डरको प्रक्रिया शुरु गरेको थियो । सभाषद गुरुङले १४ अर्व मात्रै नभईकन एक्जिम बैंकले पुरै रकम दिने आश्वासन दिईसकेको बताउँदै विमानस्थल निर्माणका लागि पोखरेलीले सकारात्मक दवाव दिनुपर्ने बताउनुभयो ।

प्रक्रिया पुरा नगरिकन चिनियाँ कम्पनीसँग विमानस्थल निर्माणको लागि सम्झौता गरेको भन्दै सार्वजनिक लेखा समितीले अर्थमन्त्रीसँग स्पष्टिकरण लिएपछि पोखरेलीमा विमानस्थल नबन्ने हो की भन्ने शंका उत्पन्न भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुभएको बेलैमा ठुला योजनामा लगानी गर्न चिनियाँ सरकार सकारात्मक भएपछि भारतको असन्तुष्ट देखिएको भन्दै सभाषद गुरुङले दुई देशलाई समान रुपमा हेर्नुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले काठमाण्डौंमा ओर्लन नसक्ने विमान पोखरामा ओराल्न सक्ने गरि विमानस्थल बनाउनुपर्ने बताउनुभयो । भारतले निजगढको बाटोबाट मात्रै नेपालमा प्रवेश गर्न पाउने नियम बनाएकोले अप्ठेरो भएको बताउँदै उहाँले यसका लागि राजनैतिक तहबाट पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका पुर्व सदस्य वासु त्रिपाठीले २०६४ सालमा विमानस्थलको विवादमा परेको ५७ रोपनी जग्गाको मुआव्जा दिने बेलामा पनि अन्तिम समयमा रकम वितरणमा रोक्ने षड्यन्त्र भएको बताउँदै अव पनि षड्यन्त्र हुन सक्ने भएकोले सचेत हुनुपर्ने बताउनुभयो । त्यस्तै पोखरा विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले पोखरा पर्यटकिय नगरि भएको तथा देशमा वैकल्पिक विमानस्थल नभएको कारण र लगानीकर्ता समेत तयार भएको वेला सबैको ऐक्यवद्धता भए पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय स्तरको विमानस्थल बन्न सम्भव रहेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्नेहरुले २०३२ सालदेखि पोखरामा क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि पहल भएपनि पटक पटक अवरुद्ध भएकोले यसपटक अवरुद्ध हुन नदिने प्रतिवद्धता जनाएका छन् । उनीहरुले दातृसँस्था तयार रहेको, निर्माण कम्पनी तयार भएको र चिनिया कम्पनीले सर्भे गरिसकेको अहिलेको अवस्थामा सबै एकजुट भएर सकारात्मक दवाव श्रृजना गर्ने बताएका छन् । २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेर शुरु भएको विमानस्थल निर्माणको प्रक्रिया पटक पटक अवरुद्ध भएपछि यसपटक अवरोध हुन नदिन पोखरेली सचेत भएका छन् ।



Friday, March 23, 2012

लेखनाथमा उत्कृष्ट गाई प्रदर्शनी, लेखनाथलाई दुधको शहर बनाईने ।

फागुन ९, विनोद शर्मा ।
कास्कीको लेखनाथ नगरपालिका ८ मा उत्कृष्ट गाई प्रदर्शनी भएको छ । राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखरा, जिल्ला पशुसेवा कार्यालय कास्की र गौलोचन बृहत्तर गाईपालन समिति लेखनाथको संयुक्त आयोजनामा विहिबार भएको प्रदर्शनीमा जर्सीतर्फ कृष्णप्रसाद सुवेदीले पाल्नुभएको गाई र होलिस्टिनतर्फ ऋषिराम सिग्देलले पाल्नुभएको गाई प्रथम भएको छ । प्रथम हुनुभएका सिग्देलले सानाठुला गरि २१ वटा गाई पाल्दै आउनुभएको छ भने सुवेदीले १० वटा गाई पाल्दै आउनुभएको छ । 

जर्सीगाईतर्फ बाबुराम ढकाल द्धित्तिय, मेघनाथ सुवेदी तृतिय, कृष्ण प्रसाद सुवेदी चौथो तथा दुर्गादत्त अधिकारी सान्त्वना हुनुभएको छ । त्यस्तै, होलिस्टिनतर्फ नारायण अधिकारी द्धित्तिय र बाबुराम ढकाल तृतिय, खेमनाथ अधिकारी चौथो तथा चन्द्रकान्त पौडेल सान्त्वना हुनुभएको छ । प्रथम, द्धित्तिय, तृतिय, चौथो तथा सान्त्वना हुने किसानहरुले क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार तथा १ हजार रुपैंयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । गाईको दूध, शारीरिक अवस्था, स्वास्थ्य, सरसफाई लगायतका विधामा मूल्याङ्कन गरि उत्कृष्ट गाईलाई पुरस्कृत गरिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ । व्यवसायिक गाईपालक किसानलाई उन्नत नश्लका गाई पाल्न प्रोत्साहन गर्ने उद्देश्यले गरिएको प्रदर्शनीमा लेखनाथका कृतिम गर्भाधान गराईएका २९ वटा उन्नत गाई प्रदर्शनी गरिएको हो ।

यसअघि प्रदर्शनी उद्घाटन गर्दै पशुसेवा विभागका महानिर्देशक डा. नरबहादुर रजवारले, पशुसेवा विभागले लेखनाथलाई दूध शहरको रुपमा विकास गर्ने तयारी गरिरहेको बताउनुभयो । किसानले दूधको उचित मूल्य नपाएको प्रसङगमा महानिर्देशक रजवारले यसका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखराका प्रमुख डा. विमल कुमार निर्मलले नेपालमै प्रकृतिक पद्धतिबाट गर्भाधान गराईएको गाईभन्दा कृतिम गर्भाधान गराईएको गाईबाट सत् प्रतिशत उत्पादनमा बृद्धि हुने बताउनुभयो । उत्पादन क्षमतामा बृद्धि हुने भएकोले केन्द्रले अमेरिकाबाट विर्य ल्याएर गाईमा कृतिम गर्भाधान गरिरहेको बताउनुभयो । 

कार्यक्रममा बोल्नेहरुले पशुपालन व्यबसायलाई व्यबसायिकीकरण गर्नका लागि सरकारले पशु बीमाको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । कृषि तथा पशुपालनको क्षेत्रमा प्रशस्तै सम्भावना बोकेको कास्कीको लेखनाथ नगरपालिकामा १२ सय ५० वटा उन्नत नश्लका गाई पालिएका छन् । ५ सय ३५ जना घरधुरी व्यबसायिक गाइृ पालनमा क्रियाशील रहेको लेखनाथबाट प्रतिदिन १६ हजार लिटर दुध सँकलन हुने गरेको नौबिसे दुग्ध उत्पादक सहकारी सँस्थाका अध्यक्ष पदम अधिकारीले जानकारी दिनुभयो ।

पशु सेवा विभागले यस अघि २०६६ सालमा चितवनको गीतानगरमा पहिलो र २०६७ सालमा नवलपरासीको मुकुन्दपुरमा दोश्रो गाई प्रदर्शनी गरेको थियो । दुधको उत्पादनमा बार्षिक ३ प्रतिशतले मात्रै बृद्धि भएको तर दुध खपतको दर भने १० प्रतिशतले बृद्धि भईरहेको तथ्याङक छ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार नेपालमा १ करोड २० लाखको सँख्यामा गाई भैंसी छन् । जसमध्ये दुधालु पशुको सँख्या २० लाख मात्रै छ । दुधालु गाईको सँख्या १० लाख भएपनि नश्ल सुधार गरिएको गाई जम्मा २ लाख ५० हजार मात्रै छन् । सबै नश्ल सुधार गरिएका उन्नत गाई पाल्ने हो भने देशमा भैरहेको दैनिक ४ लाख दुधको अभाव हट्ने विज्ञहरुको भनाई छ । व्यबसायिक पशुपालनका लागि सरकारले अनुदान तथा कम व्याजमा ऋण दिनुपर्ने किसानहरुले माग गरेका छन् ।

गौलोचन बृहत्तर गाई पालन समिती लेखनाथका अध्यक्ष कलाधर लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय पशु निर्देशनालयका प्रमुख डाक्टर दिनेश पराजुली, व्यबसायिक गाई भैंसी पालन समूह कास्कीका प्रमुख बलराम कुँवर, लेखनाथ उद्योग वाणिज्य सँघका महासचिव बाबुराम गिरी, पशु सेवा विभागका पुर्व महानिर्देशक दलराम प्रधान, पशु पंक्षि वजार प्रवद्र्धन निर्देशनालयका प्रमुख केबव प्रसाद प्रेमी, अखिल नेपाल किसान सँघ क्रान्तिकारीका दुर्गादत्त अधिकारी, पशु उत्पादन निर्देशनालयका निर्देशक उदयचन्द्र ठाकुर लगायतले मन्तब्य राख्नुभएको थियो ।

Saturday, March 17, 2012

पोखरामा पश्चिमाञ्चल स्तरिय सहकारी शिखर सम्मेलन हुने ।।

चैत्र ४ पोखरा ।।
अन्तराष्ट्रिय सहकारी वर्ष सन् २०१२ को अवसरमा पोखरामा पश्चिमाञ्चल स्तरिय सहकारी शिखर सम्मेलन हुने भएको छ । सहकारी वर्ष भरि गरिने कार्यक्रमको घोषणा गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्रमुख चन्द्र बहादुर ठकुरीले, आगामी कार्तिक सम्ममा पोखरामा सहकारी शिखर सम्मेलन गरिने जानकारी दिनुभयो । सहकारी वर्षभरिमा गाउँ गाउँमा सहकारी जागरणका कार्यक्रम, सहकारी मेला, सहकारी सम्बन्धी नाटक प्रदर्शन तथा सहकारी सूचना केन्द्र सञ्चालन गरिने उहाले जानकारी दिनुभयो । 
 
कास्कीमा स्थानिय विकास अधिकारी गुरुप्रसाद सुवेदीको संयोजकत्वमा गठन भएको अन्तराष्ट्रिय सहकारी वर्ष २०१२ जिल्ला कार्यान्वयन समितीले, पोखरामा सहकारी स्तम्भ समेत निर्माण गर्ने भएको छ । कार्यक्रममा, राष्ट्रिय सहकारी सँघका अध्यक्ष केशव बडालले, प्रत्येक गाँउ विकास समितिमा एउटा सहकारी स्थापनाका लागि संघले अभियान संचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले यो आर्थिक वर्षभित्रमा सबै जिल्लाका अधिकाँस गाविसमा सहकारी स्थापना भैसक्ने बताउनुभयो । यसका लागि क्याम्पस तथा विद्यालयहरुले आफ्ना विद्यार्थीलाई कम्तिमा २ दिन सहकारीका बारेमा प्रशिक्षण दिनुपर्नेमा बडालले जोड दिनुभएको छ । कार्यक्रममै वर्ष सञ्चालन कोषका लागि १ लाख २ हजार रुपैंयाको विउ पूजी सँकलन भएको छ । यसका लागि डिभिजन सहकारी कार्यालयले ५० हजार, जिल्ला सहकारी सँघले २५ हजार, कास्की वचत तथा ऋण सहकारी सँघले १२ हजार, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी सँघले १० हजार र सनसाईन बचत सँस्थाले ५ हजार रुपैंया जम्मा गरेका हुन् । 
 
 कास्कीमा ४ सय ३० सहकारी सञ्चालनमा रहेका छन् । ग्रामिण क्षेत्रमा १ सय ९०, पोखरा उपमहानगरपालिकामा १ सय ९८ र लेखनाथ नगरपालिकामा रहेका ४२ वटा सहकारीमा ७५ हजार सदस्य आवद्ध रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीले जनाएको छ ।

सन् २००९ को डिसेम्बरमा सँयुक्त राष्ट्रसंघको महासभाले सन् २०१२ लाई अन्तराष्ट्रिय सहकारी वर्षको रपमा मनाउने घोषणा गरेपछि, नेपालमा पनि मनाउन लागिएको हो । सहकारी व्यबसायद्धारा समृद्ध विश्व निर्माण भन्ने अन्तराष्ट्रिय नारा छ भने नेपालमा सहकारी व्यबसायद्धारा समृद्ध नेपाल निर्माण भन्ने नारा तय गरिएको छ । कास्कीमा सहकारी वर्ष सफल पार्नका लागि ३५ सदस्यीय मुल समिती तथा १२ वटा विभिन्न उपसमिती गठन भएको छ ।