Sunday, February 12, 2012

बुढो रुख र म

हिजो आज
दुई चार दिन भयो
एउटै सपना देख्छु
एउटा बुढो रुख रुन्छ म सँग
भन्छ मलाई बचाईदेऊ ।

म उसको कुरा सुन्न चाहन्न
उसले सुनाउन बल गर्छ
म सकेसम्म पन्छाउँछु
उसको अगाडी मेरो केहि लाग्दैन
अन्ततः म सुन्न बाध्य हुन्छु ।

म भन्छु किन तिमीलाई बचाउने
उ भन्छ म बाँचें भने तिमी बाँच्छौ
कसरी मैँले सोधें
उसले देखायो आफ्नो जरा
उसको जराबाट अम्रीएको पानीले
आजसम्म मेरो र मेरा सन्ततीको
प्यास मेटिएको रहेछ
उसको हाँगाले मेरो चुलो बलेको रहेछ ।

म त बाठो मान्छे
उसको विकल्प खोजें
भनें तँलाई काटेर अर्को रोप्छु
उ झन अडिग भयो
उसले भन्यो आजसम्म कति रोप्यौ
मैले भनें दुई चार पटक
उसले सोध्यो कति पटक काट्यौ त
उत्तर दिन सहज थिएन मलाई
किनकी जङ्गलमा काट्न लायक कुनै रुख थिएन ।

उ मुस्कुरायो र भन्यो
तिमी आज काट्छौ र रोप्नलाई भोली भन्छौ
तिम्रो आसपासमा जँगल सकियो
तिमीले खानेपानी पनि सुक्दैछ
काठ दाउरा कहाँबाट लान्छौ अव
भोली पहिरोले तिम्रो घर पुर्छ
तिमी बचे पनि अरुलाई बचाउन सक्दैनौ ।

मैले यहाँभन्दा अरु सुन्न सकिन
र लागेँ आफ्नै बाटो
पुगेँ घरमा अनि रिसाएँ त्यो बुढो रुखसँग ।
त्यहि रात मुसलधारे पानी प-यो
हेर्दा हेर्दै घर छेउमा पहिरो गयो
गोठ र गाई वस्तु पहिरोमा परे
म गुहार माग्दै कराउन थालें
केरो गुहार सुन्ने कोहि भएन ।

पहिरोले घर पनि लान्छ जस्तो लाग्यो
अव कसैको वाँच्ने आशा भएन
म अनायासै व्युझिएछु ।
र घरलाई पहिरोबाट बचाउन खोजेँ
तर मेरो घरलाई केहि भएको रहेनछ
मेरा परिवमर र वालवच्चा मस्त निदाईरहेका थिए ।
त्यसपछि मैले त्यो बुढो रुखलाई खाजें
साँच्चै त्यो बुढो रुख हाम्रो वरिपरी थिएन
थिए त केवल साना पोथ्राहरु ।

मैले मात्र देख्छु की सबैले देख्छन्
यस्ता सपनाहरु आजकल
हो साँच्चै पानीका मुहान सुक्दैछन्
दाउरा घाँसको अभाव हुँदैछ
पानी पर्न छाडिसकेको छ ।

म त्यो बुढो रुखलाई भेट्न चाहन्छु
समयमै आँखा खोलिदिएकोमा
धन्यवाद दिन चाहन्छु
तर असम्भव छ उसको र मेरो भेट ।
यो कुरा म सवैलाई सुनाउँछु
र शुरु गर्छु वन जोगाउने अभियान ।

विनोद शर्मा ुसानुभाइु

No comments:

Post a Comment