Friday, March 23, 2012

लेखनाथमा उत्कृष्ट गाई प्रदर्शनी, लेखनाथलाई दुधको शहर बनाईने ।

फागुन ९, विनोद शर्मा ।
कास्कीको लेखनाथ नगरपालिका ८ मा उत्कृष्ट गाई प्रदर्शनी भएको छ । राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखरा, जिल्ला पशुसेवा कार्यालय कास्की र गौलोचन बृहत्तर गाईपालन समिति लेखनाथको संयुक्त आयोजनामा विहिबार भएको प्रदर्शनीमा जर्सीतर्फ कृष्णप्रसाद सुवेदीले पाल्नुभएको गाई र होलिस्टिनतर्फ ऋषिराम सिग्देलले पाल्नुभएको गाई प्रथम भएको छ । प्रथम हुनुभएका सिग्देलले सानाठुला गरि २१ वटा गाई पाल्दै आउनुभएको छ भने सुवेदीले १० वटा गाई पाल्दै आउनुभएको छ । 

जर्सीगाईतर्फ बाबुराम ढकाल द्धित्तिय, मेघनाथ सुवेदी तृतिय, कृष्ण प्रसाद सुवेदी चौथो तथा दुर्गादत्त अधिकारी सान्त्वना हुनुभएको छ । त्यस्तै, होलिस्टिनतर्फ नारायण अधिकारी द्धित्तिय र बाबुराम ढकाल तृतिय, खेमनाथ अधिकारी चौथो तथा चन्द्रकान्त पौडेल सान्त्वना हुनुभएको छ । प्रथम, द्धित्तिय, तृतिय, चौथो तथा सान्त्वना हुने किसानहरुले क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार तथा १ हजार रुपैंयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । गाईको दूध, शारीरिक अवस्था, स्वास्थ्य, सरसफाई लगायतका विधामा मूल्याङ्कन गरि उत्कृष्ट गाईलाई पुरस्कृत गरिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ । व्यवसायिक गाईपालक किसानलाई उन्नत नश्लका गाई पाल्न प्रोत्साहन गर्ने उद्देश्यले गरिएको प्रदर्शनीमा लेखनाथका कृतिम गर्भाधान गराईएका २९ वटा उन्नत गाई प्रदर्शनी गरिएको हो ।

यसअघि प्रदर्शनी उद्घाटन गर्दै पशुसेवा विभागका महानिर्देशक डा. नरबहादुर रजवारले, पशुसेवा विभागले लेखनाथलाई दूध शहरको रुपमा विकास गर्ने तयारी गरिरहेको बताउनुभयो । किसानले दूधको उचित मूल्य नपाएको प्रसङगमा महानिर्देशक रजवारले यसका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखराका प्रमुख डा. विमल कुमार निर्मलले नेपालमै प्रकृतिक पद्धतिबाट गर्भाधान गराईएको गाईभन्दा कृतिम गर्भाधान गराईएको गाईबाट सत् प्रतिशत उत्पादनमा बृद्धि हुने बताउनुभयो । उत्पादन क्षमतामा बृद्धि हुने भएकोले केन्द्रले अमेरिकाबाट विर्य ल्याएर गाईमा कृतिम गर्भाधान गरिरहेको बताउनुभयो । 

कार्यक्रममा बोल्नेहरुले पशुपालन व्यबसायलाई व्यबसायिकीकरण गर्नका लागि सरकारले पशु बीमाको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । कृषि तथा पशुपालनको क्षेत्रमा प्रशस्तै सम्भावना बोकेको कास्कीको लेखनाथ नगरपालिकामा १२ सय ५० वटा उन्नत नश्लका गाई पालिएका छन् । ५ सय ३५ जना घरधुरी व्यबसायिक गाइृ पालनमा क्रियाशील रहेको लेखनाथबाट प्रतिदिन १६ हजार लिटर दुध सँकलन हुने गरेको नौबिसे दुग्ध उत्पादक सहकारी सँस्थाका अध्यक्ष पदम अधिकारीले जानकारी दिनुभयो ।

पशु सेवा विभागले यस अघि २०६६ सालमा चितवनको गीतानगरमा पहिलो र २०६७ सालमा नवलपरासीको मुकुन्दपुरमा दोश्रो गाई प्रदर्शनी गरेको थियो । दुधको उत्पादनमा बार्षिक ३ प्रतिशतले मात्रै बृद्धि भएको तर दुध खपतको दर भने १० प्रतिशतले बृद्धि भईरहेको तथ्याङक छ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार नेपालमा १ करोड २० लाखको सँख्यामा गाई भैंसी छन् । जसमध्ये दुधालु पशुको सँख्या २० लाख मात्रै छ । दुधालु गाईको सँख्या १० लाख भएपनि नश्ल सुधार गरिएको गाई जम्मा २ लाख ५० हजार मात्रै छन् । सबै नश्ल सुधार गरिएका उन्नत गाई पाल्ने हो भने देशमा भैरहेको दैनिक ४ लाख दुधको अभाव हट्ने विज्ञहरुको भनाई छ । व्यबसायिक पशुपालनका लागि सरकारले अनुदान तथा कम व्याजमा ऋण दिनुपर्ने किसानहरुले माग गरेका छन् ।

गौलोचन बृहत्तर गाई पालन समिती लेखनाथका अध्यक्ष कलाधर लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय पशु निर्देशनालयका प्रमुख डाक्टर दिनेश पराजुली, व्यबसायिक गाई भैंसी पालन समूह कास्कीका प्रमुख बलराम कुँवर, लेखनाथ उद्योग वाणिज्य सँघका महासचिव बाबुराम गिरी, पशु सेवा विभागका पुर्व महानिर्देशक दलराम प्रधान, पशु पंक्षि वजार प्रवद्र्धन निर्देशनालयका प्रमुख केबव प्रसाद प्रेमी, अखिल नेपाल किसान सँघ क्रान्तिकारीका दुर्गादत्त अधिकारी, पशु उत्पादन निर्देशनालयका निर्देशक उदयचन्द्र ठाकुर लगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments:

Post a Comment