Saturday, March 24, 2012

क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण तत्काल थाल्न पोखरेलीको माग

चैत्र ११, पोखरा, विनोद शर्मा ।
पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य छिटो शुरु गर्न पोखरेलीले माग गरेका छन् । पोखरामा क्रियाशिल ५० भन्दा वढी संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर, विमानस्थल निर्माण सम्वन्धमा उठेका प्रसंगलाई चाँडो टुंगो लगाई काम अगाडि वढाउन माग गरेका हुन् । विमानस्थल निर्माण सम्वन्धमा दिउँसो भएको छलफलमा सभासद् राजकाजी गरुङले, प्रक्रियागत त्रुटि देखाएर पोखरामा क्षेत्रीय विमानस्थल निर्माणको काम रोकिनेमा आशंका व्यक्त गर्नुभयो । सार्वजनिक लेखा समितीले विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने क्रममा प्रक्रियागत कमजोरी भएको भन्दै सरकारलाई सचेत हुन निर्देशन दिएपछि, गुरुङले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

चिनिया सरकारको जमानतमा एक्जिम बैंकले पोखरामा विमानस्थल निर्माणको लागि नेपाल सरकारलाई १४ अर्व रुपैयां अनुदान दिने घोषणा गरेपछि सरकारले टेण्डरको प्रक्रिया शुरु गरेको थियो । सभाषद गुरुङले १४ अर्व मात्रै नभईकन एक्जिम बैंकले पुरै रकम दिने आश्वासन दिईसकेको बताउँदै विमानस्थल निर्माणका लागि पोखरेलीले सकारात्मक दवाव दिनुपर्ने बताउनुभयो ।

प्रक्रिया पुरा नगरिकन चिनियाँ कम्पनीसँग विमानस्थल निर्माणको लागि सम्झौता गरेको भन्दै सार्वजनिक लेखा समितीले अर्थमन्त्रीसँग स्पष्टिकरण लिएपछि पोखरेलीमा विमानस्थल नबन्ने हो की भन्ने शंका उत्पन्न भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुभएको बेलैमा ठुला योजनामा लगानी गर्न चिनियाँ सरकार सकारात्मक भएपछि भारतको असन्तुष्ट देखिएको भन्दै सभाषद गुरुङले दुई देशलाई समान रुपमा हेर्नुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले काठमाण्डौंमा ओर्लन नसक्ने विमान पोखरामा ओराल्न सक्ने गरि विमानस्थल बनाउनुपर्ने बताउनुभयो । भारतले निजगढको बाटोबाट मात्रै नेपालमा प्रवेश गर्न पाउने नियम बनाएकोले अप्ठेरो भएको बताउँदै उहाँले यसका लागि राजनैतिक तहबाट पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका पुर्व सदस्य वासु त्रिपाठीले २०६४ सालमा विमानस्थलको विवादमा परेको ५७ रोपनी जग्गाको मुआव्जा दिने बेलामा पनि अन्तिम समयमा रकम वितरणमा रोक्ने षड्यन्त्र भएको बताउँदै अव पनि षड्यन्त्र हुन सक्ने भएकोले सचेत हुनुपर्ने बताउनुभयो । त्यस्तै पोखरा विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले पोखरा पर्यटकिय नगरि भएको तथा देशमा वैकल्पिक विमानस्थल नभएको कारण र लगानीकर्ता समेत तयार भएको वेला सबैको ऐक्यवद्धता भए पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय स्तरको विमानस्थल बन्न सम्भव रहेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्नेहरुले २०३२ सालदेखि पोखरामा क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि पहल भएपनि पटक पटक अवरुद्ध भएकोले यसपटक अवरुद्ध हुन नदिने प्रतिवद्धता जनाएका छन् । उनीहरुले दातृसँस्था तयार रहेको, निर्माण कम्पनी तयार भएको र चिनिया कम्पनीले सर्भे गरिसकेको अहिलेको अवस्थामा सबै एकजुट भएर सकारात्मक दवाव श्रृजना गर्ने बताएका छन् । २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेर शुरु भएको विमानस्थल निर्माणको प्रक्रिया पटक पटक अवरुद्ध भएपछि यसपटक अवरोध हुन नदिन पोखरेली सचेत भएका छन् ।



No comments:

Post a Comment