Sunday, March 25, 2012

त्रि.वि.द्धारा नेपालकै एकमात्र श्रव्य पुस्तकालयलाई २ जनाको दरबन्दी स्विकृत

चैत्र १२ गते पोखरा, विनोद शर्मा ।
पोखराको पृथ्वी नारायण क्याम्पसमा सञ्चालन भैरहेको नेपालकै एकमात्र श्रव्य पुस्तकालयलाई त्रिभुवन विश्वविद्यालयले २ जनाको दरबन्दी स्विकृत गरेको छ । दृष्टिविहीन विद्यार्थीलाई लक्षित गर्दै नेत्रहिन संघ कास्कीले २०६१ सालदेखि पृथ्वी नारायण क्याम्पसमा सञ्चालन गर्दै आएको श्रव्य पुस्तकालयमा विश्वविद्यालयले चैत्र पहिलो हप्ता दरबन्दी स्विकृत गरेको हो । पुस्तकालय सञ्चालनमा आएको सात वर्षपछि गतवर्ष मात्रै त्रिभुवन विश्वविद्यालयले श्रव्य पुस्तकालयलाई २ जनाको दरवन्दी दिएको थियो । 

दरवन्दी स्विकृत भएपछि केहि दिनमै उक्त दरबन्दीमा पदपुर्ती गरिने नेत्रहिन संघ कास्कीका कार्यक्रम संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । नेत्रहीन संघ कास्कीले क्याम्पससँग सम्झौता गरि २०६१ सालमा पश्चिमाञ्चल क्षेत्रिय पुस्तकालयभित्र ४ कोठाको राष्ट्रिय श्रब्य पुस्तकालय स्थापना गरेको थियो । पुरुतकालयमा अहिले लोकसेवा आयोग अन्तर्गतको नायव सुब्बा र खरिदार तहको नयाँ पाठ्यक्रममा आधारित पुस्तकहरु उत्पादन भैरहेकोे छ ।

एउटा पुस्तक उत्पादनका लागि नैं १३ हजार रुपैंयाँसम्म खर्च हुने र पुस्तकालयबाटै कर्मचारीलाई तलव दिनुपर्ने भएपछि आवश्यकता अनुसारका पुस्तक उत्पादन गर्न सकिएको थिएन । सरकारले दरवन्दी स्विकृत गरेपछि श्रव्य पुस्तक उत्पादन गर्न सजिलो हुने कार्यक्रम सँयोजक सुवेदीले बताउनुभयो । पुस्तकालय सञ्चालनमा आएको सात वर्षसम्म पनि सरकारले कुनै सहयोग नगरेको बताउँदै सँयोजक सुवेदीले पुस्तकालयलाई वार्षिक वजेट विनियोजन गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।

नेत्रहिन सँघ कास्कीको पुस्तकालय सरकारलाई नैं हस्तान्तरण गर्ने योजना छ । पुस्तकालय नहुँदा ३०/३५ प्रतिशतको हाराहारीमा दृष्टिविहीन विद्यार्थी उत्तिर्ण हुने गरेकोमा अहिले ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरेको नेपाल नेत्रहिन सँघको केन्द्रिय कार्यालयको तथ्यांक छ । पुस्तकालयका लागि क्याम्पसले निशुल्क स्थान उपलव्ध गराएको छ भने हरेक वर्ष क्याम्पसमा भर्ना हुन आउने विद्यार्थीबाट प्रति विद्यार्थी १० रुपैंया संकलन गरि एकजना कर्मचारीलाई पारिश्रमिकको व्यबस्था गरिएको क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोईरालाले जानकारी दिनुभयो ।

कक्षा ८ भन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरुको पाठ्यपुस्तक ब्रेललिपीमा प्रकासित नहुने भएकोले पुस्तकालयले माथिल्लो तहका विद्यार्थीका पाठ्यपुस्तक, लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगका पुस्तक उत्पादन गरेर देशभर वितरण गरिरहेको छ । नेपालभर विद्यालय र क्याम्पसमा गरि १ हजार दृष्टिविहिन विद्यार्थी अध्ययनरत रहेको नेपाल नेत्रहिन संघको तथ्यांक छ । यसमध्ये ८ कक्षा भन्दा माथिका ८ सय ५१ जना विद्यार्थी अडियो पुस्तकालयको सम्पर्कमा रहेको कास्की नेत्रहिन संघले जनाएको छ ।

No comments:

Post a Comment