Monday, April 16, 2012

पानीघट्टबाट निकालेको विजुलीबाट नवलपरासीको रामकोट झिलीमिली

रामकोट, बैशाख ०४, विनोद शर्मा
नवलपरासीको डाँडाझेरी गाउँ विकास समितीको वडा नं. ७ रामकोटका स्थानियबासीले पानीघट्टबाट ६ किलोवाट विजुली निकालेर गाउँ झिलिमिली पारेका छन् । पानीघट्टको माध्यमबाट उत्पादन गरिएको विजुलीबाट वडा नं. ७ का २५ घर झिलिमिली भएको छ । १० किलोवाट क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि आर्थीक अभावको कारण ६ किलोवाट क्षमता मात्रै उत्पादन भएको स्थानिय शिक्षक यदु सिग्देलले जानकारी दिनुभयो ।

रामकोटका स्थानिय चतुरे सारुले स्थानिय प्रविधि, आफ्नो सीप र क्षमताको प्रयोग गरेको विद्युत उत्पादन गर्नुभएको हो । जिविको पार्जनका लागि वन कार्यक्रम एल एफ पिको २ लाख, जिल्ला वन कार्यालयबाट प्राप्त ५० हजार, सहमति सँस्थाबाट ५० हजार, गा.वि.स. बाट १ लाख, जिविसबाट १ लाख, साँसद विकास कोषबाट १ लाख, स्थानियबासीको ५ लाख बराबरको श्रमदानबाट विद्युत उत्पादन गरिएको हो ।  कुल १५ लाख रुपैंयाँको अनुमान गरिएको आयोजनाका लागि १३ लाख रुपैंयाँ खर्च भैसकेको र आर्थिक सहयोग जुटाउने काम भैरहेको शिक्षक सिग्देलले बताउनुभयो ।

स्थानिय लादिखोलाबाट २ किलोमिटर लामो कुलो बनाएर विद्युत उत्पादन गरिएको रामकोट लघु जलविद्युत आयोजनाले जनाएको छ । ढिकी जाँतोको भर पर्नुपरेको रामकोटमा डिजेलबाट चल्ने मिल पनि छैन । केहि अन्न कुटानी तथा पिसानीका लागि उनीहरु साँढे २ घण्टाको बाटो हिँडेर बुलिङटार गा.वि.स.मा जानु पर्छ । मगर समुदायको बाहुल्यता रहेको रामकोटबासीले पुरा क्षमताको विद्युत उत्पादन भएपछि गाउँमै मिल स्थापना गर्ने तयारी भैरहेको छ । आर्थीक सहयोग पाएमा पुरा क्षमताको विद्युत निकालेर अरु वडामा समेत वितरण गर्ने रकम जुटाउन सघाउँदै आउनुभएका शिक्षक सिग्देलले बताउनुभयो ।

यसैवीच, डाँडाझेरी गाउँ विकास समितीकै वडा नं. ९, ५ र ४ को लागि २७ किलोवाट क्षमताको विद्युत उत्पादन हुने भएको छ । तनहुँको दमौलीमा रहेको उर्जा विकास केन्द्रसँगको सहकार्यमा जिल्ला विकास समिती नवलपरासीको ४ लाख र श्रमदान समेत गरि ९५ लाख रुपैंयाँको योजनामा विद्युत निकाल्न लागिएको हो । विद्युत उत्पादनका लागि स्थानियबासीले ४ लाख रुपैंयाँ समेत सँकलन गरेका छन् । स्थानिय विकास मन्त्रालयको निर्देशन अनुसार २० प्रतिशत उपभोक्ता समितीले धरौटी राख्नुपर्ने भएकोले रकम जम्मा गर्ने काम भैरहेको छ ।

स्थानिय लादिखोलाबाट निर्माण गरिने विद्युतबाट तीन वटा वडाका २ सय घरधुरीले विजुली बाल्न पाउने लादिखोला पहिलो जलविद्युत आयोजनाका अध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिनुभयो । धरौटीका लागि ११ लाख ५० हजार रुपैंयाँ सँकलनका लागि समेत समस्या भएको उहाँको भनाई छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete