Saturday, July 7, 2012

जन्मदिनको शुभकामना ! !! !!!


आज असार २० गते, आजदेखि म २६ बर्षको भएँ ।
सानोमा स्कुल छाडेर भागेको । स्कुल छुट्टि भएपछि साँझसम्म डण्डिवियो खेलेर बसेको । मोजाको फुटवल बनाएर खेलेको । खहरे खोलामा नाङगै पौडी खेलेको । स्कुल विदा भएको दिन, दिनभरी ऐसेलु र चुत्रो खाएर बिताएको । पहिलोपल्ट बस देखेर तर्सिएको । बसबाट झरेपछि सिँगो घर र गाउँ नैं घुमाएजस्तो भएको । अस्ति भर्खरैजस्तो लाग्छ । 
समय त डिजेल मिलको फित्ता जस्तै पो रैछ । फनफनी घुमेको घुम्यै गर्छ । अरुले भनेको सुनेको थिएँ – खुशीमा समय चाडै बितेजस्तो लाग्छ । दुःखमा समय एकैठाउँमा अडेको अड्यैजस्तो हुन्छ । 
मैले आज पनि सम्झेको छु । एसएलसीमा गणित विषयको परिक्षा दिँदा ३ घण्टाको समय आधाघण्टामै सकिएजस्तो लागेको थियो । किनभने सबैभन्दा गाह्रो विषय भएकोले अरुलाई सोध्दा, चिट चोर्न खोज्दा समय कतिबेला सकियो थाहा भएन । फेरी तयहि विषयमा जम्मा २८ नम्बर आएर फेल भईयो । 
परिक्षा हलमा ३ घण्टाको समय पनि कति छिटो बित्छ ? विहिबार राती नेपाल टेलिभिजनमा तितोसत्य हेर्दा कत्ति चाँडै सकिन्छ ? तर, बिचबिचमा आउने विज्ञापन कत्ति लामो लाग्छ ।
अर्को कुरा, मनपर्ने सरको कक्षा कत्ति छोटो लाग्छ र मन नपर्ने सरको कक्षा कत्ति लामो । समय र उमेर पनि त्यस्तै हो की जस्तो लाग्छ । 
म सोचिरहेको छु– मेरो जीवनको २६ बर्ष मनपर्ने सरको कक्षा झैं कत्ति चाडै सकिएछ । 
कहिलेकाँही भेटेका स्कुलदेखि क्याम्पस सम्मका साथीहरुले दुखि र निरास कुरा गर्छन् । आफुले केहि गर्न नसकेपछि उनीहरुलाई आफ्नो जीवन मन नपर्ने सरको क्लासजस्तो अल्छिलाग्दो भएको छ रे । 
आफैले आफ्नो जीवन मनपर्ने सरको कक्षा जस्तो बनाएँ । आज मैले यस्तै सोचिरहेको छु । किनभने आज म पत्रकारीतामा छु र आफ्नो कामबाट सुन्तुष्ट पनि । पोखरामा रेडियो तरङ्गमा बसेर स्थानीय निकायको पारदर्शीता र जवाफदेहिताको बारेमा बुझ्दै छु । यहि विषयमा आफुलाई विज्ञ बनाएर आफुलाई स्थापित सञ्चारकर्मी बनाउने खुड्कीलो चढ्दैछु । 
समयले मान्छेलाई सुखी र दुखी बनाउने होइन, हामी आफैले बनाउँन सकिँदो रहेछ भन्ने मैले बुझ्दै छु । मेरा केहि साथीले आफुले नै जीवन मन नपर्ने सरको कक्षा जस्तो बनाए । कति साथीका बा, आमा र शिक्षकले नै जीवन मन नपर्ने सरको कक्षाजस्तो बनाइदिए । 
आफ्नो क्षमता र रुचीको विषय र क्षेत्रमा काम गर्ने हो धने जीवन मन पर्ने सरको कक्षाजस्तै हुन्छ भन्ने कुरा उनीहरुले बुझेनन् । अथवा उनीहरुलाई अग्रजहरुले पनि सहि मार्गदर्शन गर्न सकेनन् । मेरो पनि झण्डै त्यहि अवस्था आउने थियो । यदि आजभन्दा ४ वर्ष अगाडि विदेशमा होटल क्षेत्रमा काम गर्न गएको भए । 
साथीहरुले बा, आमा, परिवारका अरु सदस्य र शिक्षकले सिकाएको बाटो हिडे । म भने आफैले रोजेको र आफुले गर्न सक्ने कामको बाटो हिँडे । त्यसैले भन्छु साथीहरु र म मा केहि फरक छ ।...
म सानैदेखि पढाईमा सामान्य थिएँ । उमेरको हिसावले अरु भन्दा साने भएको हुँदा मलाई पहिलो अथवा दोश्रो बेञ्चमा बस्ने व्यबस्था मिलाईएको थियो । तर सरले पठाएको त्यत्ति बुझ्दिनथें । तर, नबुझेको कुरा सोध्ने आँटै आउदैनथ्यो । सोध्यो भने पनि सरले “सय पटक भन्दा पनि बुझिनस्” भन्दै कान निमोठ्थे ।
सायद, असल सर भईदिएको भए, विद्यार्थीलाई राम्रोसँग बुझाउँदा हुँन् । प्रेरणा दिँदा हुन् । तर नबुझ्ने विद्यार्थीलाई सरले कहिल्यै वास्ता गरेनन् । ति कक्षामा चाँडो बुझ्ने अझ भनौं पहिलो, दोश्रो, तेश्रो हुने बिद्यार्थीलाई मात्र प्रेरणा दिन्थे । सबैको अगाडि उनीहरुको मात्रै प्रसंसा गर्थे । 
सर सक्षम कारिगर । बच्चा त गिलो माटो हुन् । तिनैको हातले नै हाम्लाई बिभिन्न थरि मुर्ति बनाउने न हो । सरले भने तिक्ष्ण बिधार्थीको जहिले पनि राम्रो मुर्ति बनाउथे । हाम्लाई भने आकार दिन नसकेर त्यतिकै छाडिदिन्थे । 
म जति क्लास उक्लिदै गएँ, उति कमजोर हुँदै गएँ । 
सरले गिल्ला गर्छन् की, कक्षाका साथी हाँस्छन् भन्ने मात्रै मनमा खेलीरहन्थ्यो । कहिलेकाँहीत बाहना बनाएर विद्यालय जान्नथें । घरमै बस्थें । घरमै बसेपछि त मलाई गाली गर्ने शिक्षक हुन्थेनन् । मसित पढ्न नआउने किताव हुन्थेनन्, न त सरले सोधेको कुराको उत्तर दिँन नसक्दा गललल्ल हाँस्ने साथीहरु । म एक्लो हुन्थे । तै पनि मलाई एक दिनलाई भए पनि ढुक्क हुन्थ्यो । 
प्रायः जाँचमा मेरो पास प्रतिशत मात्रै आउँथ्यो । कहिलेकाही एक दुई विषयमा गुल्टन्थें पनि । पढ्नै मन नलाग्ने अँग्रेजी विषयमा १०/२० नम्बर मात्रै पनि आउँथ्यो । 
गाउँमा पनि पहिलो हुने बिद्यार्थीलाई सबैलाई माया गर्थे । फेल हुनेलाई त देख्यो कि गाली गर्थे । यसले पढेर खाँदैन हल गोरु किनिदिए हुन्छ खेतबारी छँदैछ खेती गर्छ भन्थे । वर्ष भरीको पढ्न पठाउनुभन्दा मेला पठाउँदा फाईदा हुन्छ भन्थे । 
तर, कसैले सोधेन– तँलाई कुन विषय पढ्न गाह्रो लाग्छ ? किन कमजोर भयो तेरो पढाई भनेर । कहिलेकाँही त मलाई पनि लाग्थ्यो– म पढेर ठूलो मान्छे बन्न सक्दिन भनेर । 
म कक्षा ६ मा पुगेदेखि कक्षाको पाठ्यपुस्तक पनि फेरियो । जम्मा एसएलसी सम्म पढेका सरहरुलाई नैं ती विषयमा पढाउन हम्मे हम्मे पथ्र्यो । उनीहरु बल्ल बल्ल पढाएजस्तो गर्थे । कहिलेकाँही त सरलाई त नआउने विषय मलाई कसरी आओस् त जस्तो पनि लाग्थ्यो ।
जव रिजल्ट हुन्थ्यो – मेरो सधैं थोरै नम्बर आउँथ्यो । त्यसबेला भने मेरो मनमा थोरै ईख पलाउँथ्यो । “यसपाली मज्जाले पढेर राम्रो नम्बर ल्याउँछु” भन्ने कसम खान्थें, तर फेरी उहि ! मन नलागेको विषय हेर्दे नहेर्ने । सरले पनि नजान्ने विद्यार्थीलाई ध्यान नदिने । अनि कसरी आउँछ राम्रो नम्बर ? “यसपाली मेहनत गरेर पढ्छु” भनेर खाएको त्यत्तिकै हराएर जान्थ्यो । 
बिस्तारै एसएलसीको परिक्षा पनि नजिकै आयो । ६ देखि फेरिएको किताव पढ्दै जाँदा एसएलसीसम्म फेरिएकै किताव पढ्नु पर्यो । आई ए, बि ए कताको कोर्ष ९ र १० मा राखिएको छ भन्थे । नयाँ र अप्ठ्यारो पाठ पढ्न त झन कठिन भैरहेको थियो । विद्यालयमा पनि यस वर्ष यी यी विद्यार्थी पास हुन्छन् भनेर अड्कल काट्न थालेका थिए । मेरो नाम पनि अन्तिमतीर परेको रहेछ ।  
...
हामी सामान्य परिवारको मान्छे । त्यसमाथी पनि पाँच भाई छोरा । मेरो बुबा मजदुरिका लागि काठमाण्डु ललितपुरका नेवारहरुको खेतमा काम गर्न जानु हुन्थ्यो रे । मैले एसएलसी दिने बेलामा थाहा पाएको । उहाँ एक महिनासम्म बसेर काम गर्नुहुन्थ्यो रे र घर खर्च जम्मा गरेर फर्कनुहुन्थ्यो रे । त्यतिबेलासम्म हामी सबैको हेरविचार र घरको काम आमाले गर्नुहुन्थ्यो रे । छोरा धेरै छन् के खालान भनेर जग्गा जोड्नका लागि हामीले धेरै मेहनत गरेका थियौं भन्नुहुन्थ्यो बुबाले । 
मेरो जेठो दाईले २० ओटा सलाईका बट्टा जम्मा गरेर त्योसँग कापी साटेर पढ्नु भएको रे । तर मलाई त्यस्तो बाध्यता त थिएन । तर आफैं कमजोर भएपछि कस्को के लाग्छ र ! 
त्यतिबेलासम्म त मेरो काँईलो दाईले पनि एसएलसी पास गरिसक्नुभएको थियो । 
मेरो बुबा आमा मात्रै होईन अरुले पनि राम्रो नम्बर ल्याएर पास गर्नुपर्छ भन्थे । कसैले धेरै पढ्नुपर्छ पैसा कमाउनुपर्छ पनि भन्थे । तर पढ्न कत्तिको गाह्रो छ भनेर कसैले पनि भन्दैनथे । 
कक्षा पिच्छे कोर्ष त फेरिन्थ्यो नैं । सिन्धुपाल्चोकको कुबिण्डे गा.वि.स. माओवादी प्रभावित क्षेत्र भएकोले शिक्षक पनि तीन तीन महिनामा फेरिईन्थे । खास गरि आँग्रेजी, गणित र विज्ञान विषयको । कोही ठाउँका बारेमा बुझेपछि गएपछि फर्केर आउँदैनथे । कोहीलाई माओवादीले दवाव दिन्थे । 
एसएलसी नजिकिदै गर्दा सरहरु पहिलो दोश्रो तेश्रो हुने र राम्रा विद्यार्थीमा केन्द्रित हुन थाले । सरहरु सोच्थे– “यिनीहरु चाँही ट्यान्लेट छन् । अलिकति चिट चोराउन र परिक्षमा टाईट नहुने ठाउँमा सेन्टर पार्न पाईयो भने त यिनले फष्ट डिभिजन ल्याएर स्कुलको इज्जत राख्छन् ।”
तर विद्यालयको रिजल्ट शुन्य जस्तै भयो । २५ जनाले एसएलसी दिएकोमा जम्मा १ जनामात्रै उत्तिर्ण भएछन् । २२ जनालाई एउटा अथवा दुईटा विषय लागेछ । मेरो पनि गणितमा २८ नम्बर आएछ र फेल भएछु । 
पुरक परिक्षा दिन पाउने व्यबस्था गर्ने की नगर्ने भन्ने विषयमा विवाद भयो । शिक्षा मन्त्रालयमै । तर पछि पाईयो । भदौको अन्तिम हप्ता । त्यसपछि मलाई पढाईमा अलि ध्यान जान थाल्यो मैले ७४ नम्बर ल्याएर पास गरें । जे होस्, म पनि सेकेन्ड डिभिजनमा पास भएँ । ५० दशमलव ४ प्रतिशत ल्याएर । 
एसएलसी पास भएपछि सदरमुकाममा बसेर १२ कक्षासम्म पढ्ने भईयो । छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स भने झैं भयो । अरुको लहैलहैमा लागेर कमसै पढ्ने भईयो । एउटा साथीलाई किन कमर्स पढेको भनेको उसले त राम्री केटीहरु हुन्छन् भनेर भन्ने जवाफ दिएको थियो । तर मैले त पास गर्न सजिलो होला भन्ने लागेर कमर्स रोजेको थिएँ । 
...
पिहलैदेखिको कमजोर मान्छे, त्यसैले कलेजमा पनि राम्रो विद्यार्थी हुन सकिन । तर, मेरो मन चलचित्र क्षेत्रतीर तानियो । दाईसँग बसेर पढ्दै गर्दा म हाईभिजन हलमा गएर चलचित्र हेर्न थालें । दिउँसो १२ वजेपछि सो हुन्थ्यो । विहान पढेर फर्किएपछि खाना खाएर हलमा जान थालें । हप्ताको एक दिन । तर दाईले राम्रो मान्नु भएन । पढाई बिग्रन्छ भन्नुहुन्थ्यो । 
२०५९ सालमा मेरो गाउँमा पनि विजुली पुगिसकेको थियो । ६० सालको दशैंसम्ममा मैले ५० वटा जति नेपाली चलचित्र हेरी सकेको थिएँ । द्धन्दसँग जोडिएको बलिदानदेखि युगदेखि युगसम्म हेरिसकेको थिएँ । 
६० को दशैंमा नवमीको दिनमा गाउँले काकाको घरमा श्रीकृष्ण श्रेष्ठ र निरुता सिँहले अभिनय गरेको चलचित्र माईती हेरिसकेपछि म मा एक किसिमको चलचित्रको भूत सवार भयो । मलाई पनि यो क्षेत्रमा लाग्नुपर्छ भन्ने भयो मैले मनमनै अठोट गरें म पनि यो क्षेत्रमा केही गर्छु भनेर । 
कक्षा १२ को रिजल्ट पनि सामान्य भयो । फेल पनि भईन राम्रो नम्बर पनि आएन । त्यसपछि आफ्नो लक्ष्य पछ्याउन काठमाण्डु जाने निर्णय गरें । तर घरबाट चौतारामै स्नातक तहसम्म पडे हुन्छ भन्नुभयो । चलचित्रको क्षेत्रका संघर्ष गर्न चौतारामा सम्भव थिएन । र स्नातक तहमा कमर्स पनि चौतारामा पढाई नहुने भएकोले कमर्स पढ्छु भनेर काठमाण्डु जाने योजना बनाएँ । 
दाईले ललितपुरको नमुना मच्छिन्द्र क्याम्पसमा लगेर बिबिएस पहिलो वर्षमा भर्ना गरिदिनुभयो । २०६१ भदौको २३ गतेदेखि पढाई पनि शुरु भयो । तर मेरो मन कसरी चलचित्रमा प्रवेश गर्ने भन्नेतीर केन्द्रित भयो । मंसीरदेखि त हप्ताको तीन दिन अभिनय प्रशिक्षणमा जान थालें । दाईलाई फि तीर्न पैसा मागेको उहाँले ३ वर्ष राम्रोसँग पढ त्यसपछि राम्रो जागिर खाँदै त्यो पनि काम सिके हुन्छ भन्न्ुभयो । 
१ हजार रुपैंयाँमा ३ महिना सिक्न पाईने र उत्कृष्ठलाई अभिनयको मौका दिईने भनेपछि मेरो मनले मानेन । दाईसँग रोई कराई गरेर भए पनि पैसा मागेर अभिनय सिक्न थालें ।
पहिलो पटक मैले २०६२ सालको बैशाखमा अपराध नामको टेलिचलचित्रमा आफ्नो अनुहार देखाउने मौका पाएँ । आफुलाई पहिलोपटक टिभीमा देख्दा त मेरो खुशीको सीमा रहेन तर पहिलो वर्षमा ५ मध्ये ३ वटा विषय लाग्दा भने ........... । मलाई यस क्षेत्रको रस पसिसकेको थियो । म कक्षा छोडेर भए पनि अपराधको सुटिङ हुने ठाउँमा पुग्न थालें । चलचित्र क्षेत्रको बारेमा नजिकबाट नियाल्न पाएँ । अशोक शर्मा जस्तो निर्देशकसँग काम गर्नु मेरो लागि चानचुने कुरा थिएन । 
पछि अपराध पनि बन्द भयो । मलाई फेरी रेडियोको कार्यक्रमतीर ध्यान जान थालयो । रेडियो नेपालको शुक्रबार विहान १० वजेको कार्यक्रम मधुवन मा प्रत्येक्ष सहभागि भएको म आज जस्तै ठान्छु । २०६३ को जेठतिर जावलाखेलको क्लासिक एफएमले पत्रकारिता तालिमको आयोजना गर्यो । तालिमको लागि फर्म भरेपछि अन्तर्वार्ताको क्रममा मैले अध्यक्ष मञ्जु कार्की लामिछानेलाई चलचित्र क्षेत्रमा प्रवेश गर्न रेडियोको सहारा लिएको भनेको थिएँ । 
जे होस्, मैले भने जस्तै भयो । रेडियोमा नियमित आवाज प्रसारण हुनुभन्दा अगाडि नैं मैले नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिफिल्म पथभ्रष्टमा काम गरिसकेको थिएँ । तालिममा सहभागि साथी (अहिले हाम्रो सम्बन्ध दिदि भाईको जस्तो छ) सारदा दिदिले त्यस  टेलिफिल्मका निर्देशक ओम प्रतीकसँग भेटाईदिनुभयो । अनि मैले उहाँसँग काम गर्दै सिक्ने मौका पाएँ । उहाँको सहायक भएर १३ भागसम्म काम गरें । अहिले त मैले आधा दर्जनजस्तो  टेलिफिल्म तथा सेल्युल्वाईड फिल्ममा काम गरिसकेको छु । भने ५ वटा एफएम रेडियो स्टेशनमा काम पनि । 
अहिले म पोखरामा रहेको रेडियो तरङ्गको स्टुडियोमा बसेर पुराना कुरालाई नियाल्दैछु । सञ्चारक्षेत्रको चुनौतीलाइृ पन्छाउँदै स्थानीय निकायको सवाल र मुद्धामा काम गरिरहेको छु । मेरो दाई, बा र आमालाई चिन्ता थियो, म चलचित्र क्षेत्रमा प्रवेश गरेकोमा । उहाँहरु चाहनुहुन्थ्यो राम्रो जागीर खाओस् तर मेरो रुची नै. यता भएर म यहि क्षेत्र रोजें । र सन्तुष्ट पनि छु । 
तपाईलाई लाग्न सक्छ चलचित्रको कुरा गर्दै सञ्चारमा ? मैले सञ्चारको माध्यमबाट चलचित्र क्षेत्रलाई पनि बुझ्दै छु । एफ एम मा काम गर्दै गर्दा मैले ईकु र फर्कि आउ नामका २ वटा चलचित्रमा काम पनि गरिसकेको छु । 
यो क्षेत्रमा लाग्दा पहिला केहि वर्षमा भोकै पनि बस्नु परेको थियो । मलाई त भोकै बस्दा पनि पीडा थिएन । आफ्नो रुचीको क्षेत्र हो । अनुभव हुन्छ, पछि काम लाग्छ– म सोच्थे । किनभने, यहिँ नै मैले रोजेको बाटो थियो । 
एकदिन म झल्यास्स भएँ । लौ, मैले पो आफु हिँड्ने बाटो रोजेको थिएँ । घरमा त राम्ररी भनेको नै थिइनं । मेरो आवाज एन्टेना फाउण्डेसन नेपालले उत्पादन गरेको नाटक श्रृङखला नयाँ बाटो नयाँ पाईला मा प्रसारण भएपछि मलाई बाबा, आमालाई बुझाउन सजिलो पनि भएको थियो । 
दशैमा घर गएको बेला, मैले बा–आमालाई आफ्नो सपना सुनाएँ । मैले भनें – म आर्मी पुलिसमा जागिर खान सक्दिन । लोक सेवा पास गर्न पनि धेरै दुःख गर्नुपर्छ । मलाई अरु काम केही पनि आउदैन । मलाई एउटै कुरा आउँछ, लेख्न, बोल्न र कलाकारिता क्षेत्रमा केहि गर्न । मलाइृ पैसा कमाएर काठमाण्डुमा घर बनाउनु छैन । म बरु २/४ जनाले मलाई चिनुन् भन्ने चाहन्छु । 
सायद, बा–आमा पनि मेरो कुरामा विश्वस्त हुनुभयो । म काठमाण्डुको मिर्मिरे, क्लासिक एफ एम बाट कर्णाली अञ्चलको जुम्लामा रहेको रेडियो कर्णाली हुँदै नवलपरासीको विजय एफएमबाट पोखराको तरङ्ग आईपुगेको छु । 
अहिले म मासिक १२ हजार रुपैंया तलव खाईरहेको छु । मलाई लाग्छ बोलेर पनि पैसा कमाईन्छ । हुन त फर्कि आउ भन्ने चलचित्रमा काम गर्दा २० हजार रुपैंयाँ पनि पाएको छु । पहिलेको भोक र पिडालाई मैले विर्सिएको छु । ४ वर्ष लगाएर भए पनि स्नातक तह उत्तिर्ण गरेको छु । मौका मिलेछ र समय छुट्याउन सकें भने स्नातकोत्तर तहको अध्ययन पोखरामै गर्ने विचारमा छु । 
हो, सञ्चार क्षेत्रमा अझै पनि पैसा छैन । तर सबैमा यो समस्या छैन । काम गर्नेलाई कामको खाँचो पनि छैन र प्रसाको पनि । अहिले एफ एममा काम गर्नेले पनि राम्रो पैसा कमाउन थालेका छन् । श्रमजीवि पत्रकार ऐन लागु भैसकेको अवस्था छ । 
म अहिले साहित्यकार झमक घिमिरेको पुस्तक जीवन काँडा की फुल भन्ने पुस्तक पढरहेको छु । उहाँको संघर्षको कथाले मलाई झन प्रेरणा दिईरहेको छ । काम गर्ने ठाउँको वातावरण पनि उस्तै छ । २६ वर्षको उमेरमा मलाई १ घन्टा पनि “काम” गरेजस्तो लागेको छैन । म त आफ्नो सपना पुरा गरिरहेको छु । मलाई चलचित्रको माध्यमबाट झमकको संघर्षलाई विश्वसामु चिनाउन सक्छु की भन्ने लागेको छ । 
मलाई मेरो गुरु अर्थात ओम प्रतीकले भन्नुभएको थियो “भाई मेरो चेलामध्ये तँ एउटा छस् नयाँ सोचका साथ काम गर्ने र छोटो समयमै सफलता पाउने” ।
आज मलाई मेरो जीवन मनपर्ने सरको कक्षाजस्तो भएको छ । म आफैले आफुलाई सुन्दर मुर्ति बनाउन खोजिरहेको छु ।
...
जन्मदिनको शुभकामना !

नोट ः उपन्यास कर्णाली ब्लुज का लेखक बुद्धिसागरका केहि शब्द सापटी लिएर लेखिएको हो । 

No comments:

Post a Comment