Saturday, July 21, 2012

कास्कीको ल्वाङघलेल ४ कोलेलीमा आलमण्डको नर्सरी स्थापना हुने


पोखरा साउन ७, विनोद शर्मा 
कास्कीको ल्वाङघलेल गाउँ विकास समिति वडा नम्बर ४ कोलेलीमा आलमण्ड अर्थात चिनियाँ बदाम खेतीका लागि २ महिना भित्रमा नर्सरी स्थापना हुने भएको छ । आलमण्ड स्टडी ग्रुपले परियोजना तयार पारेपछि कोलेलीका किसानहरुले व्यबसायिक रुपमा चिनियाँ बदाम खेतीका लागि १ हजार रोपनी जग्गा उपलब्ध गराएका छन् । जनशक्ति कृषि तथा सिँचाई सहकारी र आलमण्ड स्टडी ग्रुपको संयुक्त आयोजनामा हिजो भएको सार्वजनिक सुनुवाई कार्यक्रममा २ महिनाभित्र नर्सरी स्थापना गर्ने सहमति भएको छ ।

९ करोड रुपैंयाँ बराबरको परियोजना निर्माण गरेको आलमण्ड स्टडि ग्रुपले किसानको जग्गाबाट साँढे २ करोड बराबरको सेयर रहने जनाएको छ । कार्यक्रममा एक रोपनी जग्गाको ३० देखि ४० हजार रुपैंयाँ कायम हुनुपर्ने किसानहरुले माग गरेका छन् । ९ करोड रुपैंयाँ बराबरको परियोजना निर्माण गरेको ग्रुपले एक रोपनीको २५ हजार रुपैंयाँ मुल्याङकन गर्नुपर्ने जनाएको छ । 

कार्यक्रममा बोल्दै किसान जिवनाथ लामिछानेले उत्पादन लिनुभन्दा अगाडिको ३ वर्षको समयका लागि बैकल्पिक व्यबस्था हुनुपर्ने बताउनुभएको छ । सबै जग्गा परियोजनामा परेका र अरुको जग्गा अधियाँमा लिएर काम गरिरहेकाहरुका लागि परियोजनाले २५ लाख रुपैंयाँको राहत कोष खडा गर्ने र सञ्चालनको जिम्मा सहकारीलाई दिने सहमति भएको स्टडी ग्रुपका संयोजक कुसुम केशव पराजुलीले जानकारी दिनुभयो । ५ वर्षका लागि परियोजनाले निव्र्याजी ऋण उपलब्ध गराउने भएकोले त्यो रकमबाट साना परियोजना सँञ्चालन गर्न सकिने संयोजक पराजुलीको भनाई छ । परियोजना अन्तर्गतका सबै काम स्थानीयले गर्दा वार्षिक ३४ लाख रुपैंयाँ बराबरको रोजगारी श्रृजना हुने भएकोले किसानहरुले शँका गर्नु नपर्ने संयोजक पराजुलीको भनाई छ । कार्यक्रमले व्यबसायिक खेतीको आधार तयार भएको र एक पटक थप छलफल गरेर अगाडि बढ्ने सहकारीका सचिव कृष्ण दवाडीले जानकारी दिनुभयो ।

पहिलो १८ महिना बिरुवा हुर्काउन समय लाग्ने र बिरुवा रोपिसकेपछि किसानहरुले एक वर्षमा वा त्यो समयभन्दा कममा उत्पादन लिन सकिने नगदेबाली उत्पादन गर्न सकिने ग्रुपले जनाएको छ । व्यबसायिक रुपमा चिनियाँ बदाम खेतीका लागि पोखराका उद्योगी व्यबसायि, सहकारी सँस्था तथा बैंक तथा वित्तिय सँस्थाहरुले चासो दिएका छन् । 

नेपालमा वर्षेनी आयात हुने अर्बौ मुल्य बराबरको चिनियाँ बदामलाई प्रतिस्थापन नेपाललाई आत्मनिर्भर बनाउनका लागि परियोजना तयार पारेको ग्रुपले जनाएको छ । कोलेलीमा व्यबसायिक रुपमा चिनियाँ बदाम खेतीसँगै कृषि र स्वास्थ्य पर्यटनलाई समेत प्रवद्र्धन गरिने संयोजक पराजुलीले बताउनुभयो । “फुल फुल्ने तीन महिनाको समयमा पर्यटक भित्रयाउन अन्य पुर्वाधार निर्माण गर्ने काम सँगसँगै अगाडि लान्छौं ।” उहाँले भन्नुभयो “जैविक विविधता सम्बन्धी अध्ययन अनुसन्धानका लागि समेत वातावरण बनाउँदै जडिबुटीबाट उपचार गर्न आयुर्बेदिक औषधालयको निर्माणको योजना बनाउँदै छौं ।” २ वटै परियोजना सम्पन्न गर्नका लागि १५ करोड रुपैंयाँ लाग्ने आलमण्ड स्टडी ग्रुपले जनाएको छ । 

No comments:

Post a Comment