Saturday, July 21, 2012

रिभानमा वार्षिक समिक्षा, २ लाख ६८ हजार ५ सय ६० रुपैंयाँ खर्च हुन बाँकी


रिभान, साउन ५, विनोद शर्मा ।
कास्कीको रिभान गाउँ विकास समितिले गत आर्थिक बर्ष २०६८/०६९ मा सञ्चालन भएको विकास आयोजना, बजेट र सेवा प्रवाहको बारेमा समिक्षा गरेको छ । गा.वि.स. भवनमा दिउँसो भएको समिक्षा कार्यक्रममा आयव्यय सार्वजनिक गर्दै गाविस सचिव बोधराज सापकोटाले गतवर्ष विनियोजन गरेको ३६ लाख २४ हजार ८ सय २७ रुपैंयाँमध्ये २ लाख ६८ हजार ५ सय ६० रुपैंयाँ खर्च हुन बाँकी रहेको जानकारी दिनुभयो । ती रकम गाविसको खातामा राखिएको सचिव सापकोटाले बताउनुभयो ।

रिभान गाविसको गत पुस २२ गते भएको गाउँ परिषद्ले विनियोजन गरेको वजेटमध्ये लक्षित तर्फ महिलाको १ लाख १५ हजार रुपैंयाँ खर्च हुन बाँकी रहेको हो । जनजाती तर्फको ९२ हजार ६ सय ६ रुपैंयाँ, पशु विकास कार्याक्रमको ५० हजार रुपैंयाँ र बालबालिकातर्फको १० हजार ९ सय ४४ रुपैंयाँ खर्च हुन बाँकी छ । गाउँ विकास समितिका गत वर्ष सकिएका आयोजनाको पेश्की नरहेको पनि सचिव सापकोटाले बताउनुभयो । 

“एक घर एक हिउँदे फलफुलको बिरुवा भन्ने नाराका साथ गाउँ विकास समितिले प्रत्येक घरमा एक एक वटा लप्सिको बिरुवा वितरण गरेको छ” सचिव सापकोटाले भन्नुभयो “बाँदरले सताउने हुनाले लप्सि खेतीमा किसानलाई आकर्षित गर्न बिरुवा वितरण गरेका छौं ।” लप्सिका बिरुवाका लागि ५० हजार रुपैंयाँ छुट्याएकोमा ललितपुरको गोदावरीबाट ल्याईएको ४ सय १० वटा बिरुवा ९ वटा कृषक समूहलाई दिईएको सचिव सापकोटाले जानकारी दिनुभयो । “बाँकी रहेको रकमबाट प्रत्येक वडामा ४÷४ किलोका दरले घ्यु सिमीको बीउ बितरण गरिएको छ” उहाँले भन्नुभयो “अर्को वर्ष उहाँहरुले उत्पादन गर्नुभएको बीउ सबै किसानलाई बितरण गरिनेछ ।” गा.वि.स.ले लप्सिको उत्पादन शुरु भएपछि गाउँमै माँडा र जाम उद्योग सञ्चालनका लागि तालिम दिने योजना बनाएको छ ।  

कार्यक्रमका सहभागीले तीनवटा गाउँ विकास समितिको लाखौं रोपनी जग्गा कटान गर्ने मर्दीखोला नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । मर्दीले रिभानसँगै, ल्वाङघलेल, धितालका खेतीयोग्य जग्गा कटान गर्नुका साथै बस्तीमा समेत क्षती पुर्याएकोले नियन्त्रण गर्नुपर्ने नदि नियन्त्रण समितिका अध्यक्ष धनराज थापा मगरको भनाई छ । “यो समस्यालाई गाउँ विकास समितिले सम्बोधन गर्न सक्दैन” उहाँले भन्नुभयो “राष्ट्रिय स्तरबाटै रातो कितावमा राखेर वजेट विनियोजना गर्नुपर्छ ।”   

कार्यक्रमका सहभागीहरुले वजेट असारको समयमा आउँदा कामदार नपाएको, वजेट थोरै हुँदा आवश्यक योजनामा खर्च गर्न नपाएको, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकाछन् । सरकारले २० प्रतिशत जनसहभागिता अनिवार्य भनेकोमा गाउँमा २० प्रतिशत रकम जुटाउन समस्या भएको रिभानको सबै वडा छुनेगरि निर्माण गरिएको मुल मोटरबाटो उपभोक्ता समितिका सचिव राजु ढुङ्गानाको भनाई छ । 

वडा नम्बर ७ को वडा नागरिक मञ्चकी संयोजक विष्णुमाया लामिछानेले असारमा वजेट आएकोले महिलाको शिर्षकमा छुट्टिएको वजेट खर्च गर्न नसकिएको बताउनुभयो । असारको समयमा खेतबारीको काममा व्यस्त हुनुपरेकोले महिला स्वास्थ्य शिविर र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिबृद्धिको कार्यक्रम गर्न नसकिएको संयोजक लामिछानेको भनाई छ । 
उपस्वास्थ्यचौकी रिभानका ईन्चार्ज जनकराज पौडेलले पानी चुहिने र सिलिङबाट धुलो खस्ने भएकोले बिरामीलाई उपचार गर्न समस्या भएको बताउनुभयो । “निर्देशिकामा लक्षित वर्गका लागि रकम छुट्टिएको भए पनि स्वास्थ्यका क्षेत्रमा पनि रकम तोक्नुपर्छ” पौडेल भन्नुहुन्छ “सरकारले स्वास्थ्य क्षेत्रलाई पनि हेर्नुपर्छ ।” 
गा.वि.स.ले युवाको सशक्तिकरण कार्यक्रमका लागि सामुदायिक श्रोत केन्द्रमा कम्प्युटर खरिद गर्न र कम शुल्कमा आधारभुत कम्प्युटर कक्षा सञ्चालनका लागि सहयोग गरेको छ । केन्द्रका अध्यक्ष शिव प्रसाद भुषालले सूचना र सञ्चारका क्षेत्रमा युवाको पहुँच पुर्याउनका लागि गा.वि.स.ले गरेको सहयोगको स्वागत गर्नुभएको छ । गाउँ विकास समितिले विषयगत समिति गठन गरिसकेकोले योजना बनाउन र कार्यान्वयनमा सजिलो भएको वडा नागरिक मञ्च वडा नम्बर ४ का संयोजक सूर्य गिरीले बताउनुभयो । 

वडा नागरिक मञ्च ९ नम्बर वडाका संयोजक विश्व बहादुर रानामगरले गाउँ विकास समितिमा कम वजेट आएकोले आवश्यक योजनामा समेत वजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । “वडा नम्बर ९ मा जानका लागि राम्रो गोरेटो बाटो समेत छैन ।” उहाँले भन्नुभयो “५ लाख रुपैंयाँ लाग्ने कामका लागि जम्मा २५ हजार मात्रै छुट्याउनु परेको छ ।”

कार्याक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष धर्मकुमारी गुरुङ, नेकपा एमालेका अध्यक्ष जुम बहादुर गुरुङ, नेपाली काँग्रेशका तोरण बहादुर गुरुङ, एकीकृत नेकपा माओवादीका ईन्चार्ज देवीलाल लामिछाने लगायतले गाउँ विकास समितिको विकास निर्माणका क्रममा राजनीतिक दलहरुका वीचमा कहिल्यै विवाद नरहने बताउनुभएको छ । 

No comments:

Post a Comment