Thursday, July 12, 2012

फेवातालमा २ लाख ५० हजार माछाका भुरा छाडियो, बेगनासमा २५ हजार


असार २८ पोखरा, विनोद शर्मा 
पोखराको फेवातालमा यस वर्ष २ लाख ५० हजार माछाका भुरा छाडिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्की, मत्स्य अनुसन्धान केन्द्र बेगनास, मत्स्य व्यबसायि समिती फेवाले पटक पटक गरेर २ लाख ५० हजार भुरा छाडिएको हो । तालमा कमनकार्प, ग्रासकार्प, बिगहेड, रहु, नैनी, भाकुर, लोकल, सहर जातका भुरा छाडिएको छ । भुरा छाड्नका लागि जिल्ला कृषि विकास कार्यालयको मत्स्य विकास शाखाले ६० हजार र सराङकोट गाउँ विकास समितिले २० हजार रुपैंयाँ प्रदान गरेका थिए । भुरा छाड्न मत्स्य व्यबसायि समिती फेवाले समेत १ लाख ३० हजार रुपैंयाँ खर्च गरेको छ । 

सराङकोट गाउँ विकास समिति वडा नम्बर ६ मा बसोबास गर्दै आएका, माछा मारेर जिविको पार्जन गरिरहेका जलारी समुदायलाई आयआर्जनमा बृद्धि गराउने र तालको पारिस्थितीक पद्धती बचाउँदै वातावरण संरक्षण गर्ने उद्धेश्यले भुरा छाड्नका लागि कार्यालयले सहयोग गरेको कृषि विकास कार्यालयका प्रमुख बेनी बहादुर बस्नेतले जानकारी दिनुभयो । तालमा छाड्नका लागि हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका भुरा आवश्यक भएपनि मत्स्य अनुसन्धान केन्द्र बेगनासमा भएका साना भुरा छाडिएको मत्स्य व्यबसायि समिती फेवाका अध्यक्ष ज्ञान बहादुर जलारीले जानकारी दिनुभयो । यस आर्थिक वर्षभीत्रमा १ लाख ५० हजार भुरा छाड्ने तयारी गरेको भए पनि भुरा साना भएकोले २ लाख ५० हजार छाड्नु परेको समितिले जनाएको छ । 

त्यस्तै, लेखनाथ नगरपालिकामा रहेको बेगनास तालमा पनि योवर्ष २५ हजार भुरा छाडिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्कीको ५० हजार रुपैंयाँ अनुदानबाट २५ हजार भुरा छाडिएको मत्स्य व्यबसायि समिती बेगनासका अध्यक्ष झलक जलारीले जानकारी दिनुभयो । यस आर्थिक वर्ष भरीमा १ लाख ५० हजार भुरा छाड्ने तयारी गरिएको भए पनि हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका भुरा नपाईएपछि २५ हजार मात्रै छाडिएको समितिले जनाएको छ । बाँकी भुरा असोजमा छाडिने अध्यक्ष झलक जलारीले जानकारी दिनुभयो । 

साना माछा छाड्दा मर्ने सम्भावना बढि हुने भएकोले हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका भुरा छाड्नका लागि मत्स्य व्यबसायि समिती बेगनासले २ लाख रुपैंयाँ छुट्याएको छ । बेगनास तालको आसपासमा ४२ घरधुरी जलारी समुदायको बसोबास रहेको छ । उनीहरु पुर्ण रुपमा तालमा आश्रीत छन् । सधैं अरुको भर पर्नुहुन्न भन्ने बुझेर मत्स्य व्यबसायि समितीले पनि रकम संकलन गरेर वर्षेनी तालमा माछा छाड्न थालिएको अध्यक्ष झलक जलारीले जानकारी दिनुभयो । माछा मार्ने किसानबाट तीन के.जी. सम्मका माछाको ५ रुपैंयाँ र तीन के.जी. भन्दा माथीका माछाको प्रति के.जी ७ रुपैंयाँसम्म उठाएर भुरा किन्न खर्च गर्ने गरेको छ ।

No comments:

Post a Comment