Tuesday, July 3, 2012

सेतीले हेमजाको एक घर बगायो, ५० घर र राजमार्ग जोखिममा


पोखरा असार २०, विनोद शर्मा 
अविरल बर्षासँगै आएको बाढीका कारण सेती नदीले फेरी कास्की हेमजाको एक घर बगाएको छ । नदिले धार परिवर्तन गरेपछि कास्की हेमजाको एक घर बगाएको छ । यहि जेठ ४ गतेको बाढीका कारण विस्थापित भएका ९ घर मध्ये कविता तिमिल्सनीको घर बगाएको हो । 

गएरातीदेखि परेको अविरल बर्षाका कारण बस्तीतर्फको भाग कटान सुरु हुँदा पोखरा बाग्लुङ्ग जोड्ने भूपिशेरचन राजमार्गको दुई सय मिटर सडक र आधा दर्जनभन्दा बढी बिजुलीका पोल बगाउने खतरा बढेको छ । त्यस्तै हेमजा वडा नम्बर १, याम्दीका ५० भन्दा बढी घर जोखिममा परेको गा.वि.स. सचिव भरतराज पौडेलले जानकारी दिनुभयो । बाढीले पोखरा उपमहानगरपालिकाका लागि मर्दिखोलाबाट ल्याउने खानेपानीको पाइप पनि बगाएको छ । पोखरामा गएको २४ घण्टामा मात्रै ९४ दशमलव ८० मिलिलिटर पानी परेको नारायणी वेसिन पोखराले जनाएको छ ।

केहीदिनअघि, स्थानीय प्रशासन र प्रहरीको सहयोगमा सेतीलाई पुरानै धारमा फर्काउने प्रयास भएपनि, नदीमा पानीको वहाव बढेपछि, प्रयास असफल बनेको छ । नदी नियन्त्रणमा चासो नदेखाएको भन्दै यहि जेठ १३ गते स्थानीय बासिन्दाले दिनभर जसो पोखरा बाग्लुङ्ग जोड्ने भूपिशेरचन राजमार्ग अवरुद्ध पारेका थिए ।

बैशाख २३ गते सुख्खायाममा आएको विनाशकारी बाढीले झस्किएका कास्कीबासी, मनसुन सुरु भएलगत्तै सेतीले कटान थालेपछि, थप त्रसित बनेका छन् । बाढीमा परि ३० भन्दा वढीले ज्यान गुमाएका छन् भने त्यति संख्यामा हराईरहेका छन् । सेति नदिले अझै पनि ठुलो विपद् ल्याउन सक्ने भन्दै विज्ञहरुले सचेत रहन सुझाव दिएका छन् ।

No comments:

Post a Comment