Friday, July 13, 2012

कास्कीको ३१ गा.वि.स.का वासिन्दा पोखरा आएर विद्युत महशुल तिर्दै

पोखरा असार २९, विनोद शर्मा 
कास्कीको ३१ वटा गाउँ विकास समितिका वासिन्दाले पोखरामा नै विद्युत महशुल वुझाउँदै आएका छन् । विद्युत महशुल भन्दा दोब्बर भाडा तिरेर पोखरा आउनुपर्दा समस्या परेको भन्दै उनीहरुले पायक पर्ने ठाउँमा घुम्ती काउण्टर संचालनको माग गरेका छन् । क्षेत्र नम्बर १ अन्तर्गत ११ वटा गाविस र भरतपोखरीका बासिन्दाले चाँहि लेखनाथ नगरपालिकामा महसुल तिर्ने गरेका छन् । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले ३१ वटा गा.वि.स.लाई मध्येनजर राख्दै हेम्जा र नाउडाँडामा राखेको घुम्ति संकलन काउण्टर राखेको थियो ।

माओवादीको सशस्त्र द्धन्दको समयमा संकलन गरिएको रकमको असुरक्षा भएको भन्दै काउण्टर बन्द गरेपछि उपभोक्तालाई समस्या भएको हो । क्षेत्र नम्बर १ का ११ वटै गा.वि.स. र भरतपोखरी गा.वि.स.बाट भने पहिल्यैदेखि लेखनाथ नगरपालिकाको वडा नम्बर १ गगनगौंडामा जानुपर्ने बाध्यता थियो । हेम्जा र ढिकुरपोखरीको नाउडाँडामा राखिएको घुम्ति संकलन काउण्टरमा रकम बुझाईरहेका क्षेत्र नम्बर २, ३ र ४ का बासिन्दाले पुनः त्यहि क्षेत्रमा काउण्टर राखेर रकम बुझ्ने व्यबस्था मिलाउन विद्युत प्राधिकरणसँग माग गरेका छन् । पहिले महिनाको २ दिन गाउँमै पैसा बुझाउने गरिएकोमा अहिले पोखरासम्म जानुपरेको ढिकुरपोखरी गा.वि.स. का उपभोक्ता भरतराज अधिकारीले बताउनुभयो । “८० रुपैंयाँ तीर्नका लागि एक पटकमा ३ सय रुपैंयाँसम्म तीर्नुपर्छ” अधिकारीले भन्नुभयो “बरु गाउँ विकास समितिमै तिर्न पाए हुन्थ्यो ।” 

यस विषयमा बुझ्दा नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका सहायक लेखापाल केहरसिंह खत्रीले कार्यालयले तीन महिनाको मिटर रिडिङ गर्ने गरेको र उपभोक्ताले एकैपटक तीर्दा पनि जरिवाना नलाग्ने जानकारी दिनुभयो । रकमको सुरक्षा र कर्मचारीको अभावका कारणले घुम्ति संकलन काउण्टर राख्न नसकिएको उहाँको भनाई छ । कास्कीको समस्यालाई नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयलाई लेखि पठाएको पनि सहायक लेखापाल खत्रीले जानकारी दिनुभएको छ । टाढाका उपभोक्ताले औसतमा १ महिनाको १ सय रुपैंयाँका दरले एक वर्षको एकमुष्ट रकम बुझाएमा बिलबाट काट्दै जाने व्यबस्था भएको पनि जानकारी दिनुभयो । 

गगनगौंडामा रहेको वितरण केन्द्रले पनि एकै पटक तीन महिनासम्मको बिल दिने र एकमुष्ठ रकम बुझाउन सक्ने व्यबस्था गरेको छ । ग्रामिण भेगमा बैंकिङ सुविधा नभएकोले र कम्प्युटरको माध्यमबाट बिलिङ सिस्टम सञ्चालन भएकोले समस्या भएको प्राधिकरणले जनाएको छ । गगनगौंडा वितरण केन्द्रले तनहुँका १८ वटा गाउँ विकास समितिमा भने महिनाको ४ दिनका लागि मोवाईल काउण्टरको व्यबस्था गरेको जनाएको छ । 

No comments:

Post a Comment