Thursday, May 3, 2012

विश्व प्रेस स्वतन्त्रता दिवशमा पोखरामा विभिन्न कार्यक्रम


बैशाख २१, पोखरा, विनोद शर्मा 
आज विश्व प्रेस स्वतन्त्रता दिवश, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवशको अवसरमा नेपाली पत्रकारहरुले आफ्नो पेशागत अधिकारलाई जोड दिएका छन् । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना र श्रमजीवि पत्रकारको हित’ भन्ने मुल नारा तय गरेको छ । सन् १९९३ देखि हरेक वर्षको मे तीन तारेखमा विश्व प्रेस स्वतन्त्रता दिवश मनाइन्छ । दिवशका अवसरमा नेपाल पत्रकार महासंघ कास्कीले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना र श्रमजीविको हित’ विषयमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका बक्ताहरुले नयाँ बन्ने संविधानमा स्वतन्त्र प्रेसको ग्यारेन्टीको माग गरेका छन् । पत्रकारको पेशागत र भौतिक अधिकार दुबैको हनन भएको भन्दै उनीहरुले कुनै बहानामा प्रेस माथिको बन्देज स्विकार्य नहुने बताएका छन् । 

प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गगन बिष्टले राज्यले पत्रकारको पेशागत र भौतीक अधिकारप्रति बेवास्ता गरेको बताउनुभयो । जेठ १४ मा सँविधान नबने सबैभन्दा पहिले प्रेसमाथी हमला हुने भन्दै उहाँले सम्पुर्ण पत्रकारहरु एक हुनुपर्नेमा जोड दिनुभयो । प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष गँगाधर पराजुलीले राजनैतिक दलले आवश्यक पर्दा प्रयोग गर्ने तर समस्या परेको बेलामा भने वेवास्ता गरेकोमा आपत्ति जनाउनुभयो । बरिष्ठ पत्रकार तथा पुर्व राजदुत कमल कोईरालाले सञ्चारकर्मीहरु एकजुट भैसकेकोले प्रेसलाई कसैले नियन्त्रणमा राख्न नसक्ने बताउनुभयो । 

प्रेस स्वतन्त्रताका सेनानी माधव शर्माले उद्यागी, व्यबसायि र पत्रकारले चलाएको सञ्चार माध्यमलाई राज्यले समान व्यबहार नगरेको बताउनुभयो । पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राज बहादुर गुरुङले राज्यले समाचारसँग सुन र अपार्टमेण्ट साट्ने पत्रिकाको प्रवद्र्धन गरेको बताउनुभयो । उहाँले सरकारले समानुपातिक विज्ञापन नीति अवलम्बन गर्नुपनेृमा जोड दिनुभएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्री विनोद प्रतीकले पत्रकारीताबाट पलायन हुने क्रम रोक्नुपर्नेमा जोड दिनुभयो । श्रमजीवी पत्रकारका समस्या गम्भीर विषय भएको भन्दै यसतर्फ राज्यले ध्यान दिनुपर्ने उहाँको भनाई छ । 

दिवसका अवसरमा कास्कीमा पनि विभिन्न कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखा, स्वतन्त्र पत्रकार संघ नेपाल र प्रेस चौतारी कास्की शाखाले पोखरामा छुट्टाछुट्टै कार्यक्रम गरेका हुन् । स्वतन्त्र पत्रकार संघ नेपालले होटल दिप सागरमा परिचयात्मक कार्यक्रम गरेको छ । 

दिवसकै अवसरमा पोखरामा राष्ट्रिय महिला पत्रकार भेला शुरु भएको छ । प्रेस चौतारी नेपाल कास्कीको व्यवस्थापनमा शुरु भएको भेलाको नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । जिल्ला विकास समिती कास्कीको सभाहलमा भैरहेको भेलामा महिला पत्रकारको पेशागत अवस्था र समस्याका बारेमा छलफल हुने प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँबरले जानकारी दिनुभयो । भेलामा करिव १ सय ५० जना महिला पत्रकारको सहभागिता रहेको छ । कार्यक्रम अघि पोखराको सभागृह चोकदेखि राष्ट्रबैंकचोकसम्म प्रभातफेरि गरिएको छ ।

दिवशकै अवसरमा प्रेस युनियन कास्की शाखाले भोली विहान शुभकामना आदान प्रदान एवं पत्रकारितामा विद्यमान चुनौती विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपालमा सन् १९९५ देखि मात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दिवश मनाउन थालिएको हो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete