Wednesday, May 16, 2012

गर्मी शुरु भयो है ख्याल गरौं ।

जेष्ठ ४, पोखरा विनोद शर्मा ।
गर्मीको समयमा विभिन्न रोगको संक्रमण हुने भएकोले सुरक्षाका उपायहरु अपनाउन चिकित्सकहरुले जोड दिएका छन् । अधिकांश रोगका जीवाणुको वृद्धि गर्मीमा हुने भएकोले हाम्रो नियमित खानामा पनि रोगका जीवाणुहरुको वृद्धि हुन सक्छ । ती जीवाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झाडापखाला लागाउने, बान्ता गराउने, पेट दुखाउने तथा फुड पोइजनिङ गराउने भएकोले शुद्ध र ताजा खाना खान चिकित्सकले सुझाव दिएका छन् । गर्मीमा ठिक्क मात्रामा खाना पकाउनु, बासी खाना नखान तथा धेरै समय नराख्न क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका मेडिकल अधिकृत डा. लक्ष्मण बास्तोलाले बताउनुभएको छ ।

यो समयमा पानीका कारण अधिकाँस रोग लाग्ने भएकोले पानी सधैं उमालेर मात्रै खान पनि सुझाव दिनुभएको छ । उहाँ भन्नुहुन्छ “खाना खानुअघि, खाना पकाउनु तथा पस्कनुअघि हात धुने, दिसा तथा पिसाब गर्न चर्पीको प्रयोग गर्ने, शौचालय गएपछि राम्रोसँग हात धुने, सधै ताजा, सफा खानेकुरा मात्र सेवन गरे पानीको प्रदूषणले हुने अधिकांश रोगबाट बच्न सकिन्छ ।” शरीरको तापक्रममा सन्तुलन कायम राख्न बढी पानी पिउनुपर्ने चिकित्सकहरुको सुझाव छ । गर्मीमा धेरै मसलेदार एवं चिल्लो खाना खानु नहुने अधिकृत डा. बास्तोलाले सुझाव दिनुभएको छ ।

पानीको प्रदूषणका कारणले झाडापखाला तथा टाइफाइड लगायतका रोग लाग्ने भएकोले पानी उमालेर खानु पर्ने चिकित्सकको सल्लाह छ । “प्रदूषित पानीको माध्यमबाट झाडापखाला तथा अन्य रोगका जीवाणुहरु हाम्रो शरीरमा प्रवेश गर्छन् ।” बास्तोला भन्नुहुन्छ “झाडापखाला तथा टाइफाइडले बालबालिका र बृद्ध बृद्धामा समस्या पार्ने भएकोले धेरै ख्याल गर्नुपर्छ ।” स्कुल जाने बालबालिकालाई नियमित रुपमा घरबाटै स्वच्छ पानी वा ग्लुकोज पानी पठाउनु पर्ने डा. लक्ष्मण बास्तोलाले बताउनुभयो ।

गर्मीमा शरीरलाई तुलनात्मक रुपमा कम प्रोटिन चाहिन्छ । शरीरको तापक्रम बढी भएको अवस्थामा प्रोटिनको मेटाबोलिज्म कम हुने भएकाले खानामा रुची कम हुने मेची अञ्चल अस्पतालका डा. बालकृष्ण शाहको भनाई छ । यस्तो मौसममा बढी प्रोटिनयुक्त तथा क्यालोरी भएको खानेकुरा भन्दा पनि भिटामिन, खनिज मिनरल तथा पानी भएका खानेकुरा रोज्नुपर्ने उहाँको भनाई छ । 

“यस्तो मौसममा दही, काँक्रो, फलफूल, सलाद आदिलाई खानामा समावेश गर्नु पर्छ” शाह भन्नुहुन्छ “नियमित खाजामा फलफूल तथा फलफूलको रस, लस्सी आदि सेवन गर्दा पनि खानामा रुची बढाउँछ ।” खानामा रुचि कायम राख्न तथा कुपोषण हुन नदिन हरिया सागपात, फलफूल तथा कागती, अमला, गोलभेडाको अचार, पानी तथा झोल कुरा प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।

प्रोटिनको मेटाबोलिज्म कम हुने भएकाले यो समयमा धेरै प्रोटिनयुक्त खानेकुरा जस्तै मासु, अण्डा, दूध तथा दूधका परिकाररु कम खानुपर्छ । शाहभन्ननुहुन्छ “दुधको चिया र कफी सेवनको विकल्पमा कागती चिया पिउनु उपयुक्त हुन्छ जसले भोक जगाउनुका साथै फ्रेस राख्न पनि मद्धत गर्छ ।”

मिनरल वाटर अर्थात् विभिन्न कम्पनीले बजारमा ल्याएका बोतलका खानेपानी शुद्ध भनिए पनि सबै पानी शुद्ध नहुन सक्ने भएकोले ख्याल गर्नुपर्ने डा. बास्तोलाको भनाई छ । उहाँ भन्नुहुन्छ “पानीलाई आफ्नै तरिकाले शुद्ध बनाएर पिउनुपर्छ ।”

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete