Sunday, May 27, 2012

पोखराको फोहोर व्यबस्थापनमा चुनौती बढ्दै ।


पोखरा जेष्ठ १४, विनोद शर्मा ।

फोहोरको अत्याधिक उत्पादन र फोहोरको व्यबस्थापनका लागि गाडिको अभावका कारण पोखराको सरसफाइमा चुनौती थपिएको छ । पोखरामा दैनिक ९० टनसम्म फोहोर उत्पादन हुने गरेकोमा फोहोर व्यबस्थापनका लागि ९ वटा गाडिमात्रै भएकोले समस्या भएको पोखरा उपमहानगरपालिकाले जनाएको छ । पोखरा उपमहानगरपालिकाले दैनिक रुपमा ६० टन फोहोरमात्रै व्यबस्थापन गर्न सकेको वातावरण शाखाका अधिकृत चुंडामणी तिवारीले जानकारी दिनुभयो । नगरपालिकाले सञ्चालनमा ल्याएको ११ वटा बस मध्ये २ वटा बिग्रेका कारणले वडा नम्बर ५, ७, १४, १५, १६ र १७ मा हप्तामा एक दिन मात्रै सेवा दिईरहेको अधिकृत तिवारीले बताउनुभयो ।

२०६१ सालको माघ चौबीस गतेबाट फोहोर व्यबस्थापनको काम शुरु गरेको नगरपालिकाले पहिलो वर्ष मुख्य मुख्य चोकको मात्रै फोहोर उठाउँथ्यो । दैनिक २५ टन जति फोहोर व्यबस्थापनका लागि प्रयोग गरिएका बसलार्य नैं निरन्तरता दिईएको तर आठ वर्ष बितिसक्दा समेत नयाँ बस नथपिएको वातावरण शाखाले जनाएको छ । पोखराको फोहोर बृद्धि हुने दरलाई हेर्ने हो भने एक वर्षमा एउटा नयाँ बस थपिनुपर्ने अधिकृत तिवारीको भनाई छ । फोहारको घरमै बर्गिकरण गर्न सके ९० प्रतिशत फोहोरलाई पुन प्रयोगमा ल्याउन सकिने कार्यालयले जनाएको छ । 

१९ वटा वडामा फोहोर व्यबस्थापनका लागि ९० जना मात्रै कर्मचारी भएकोले पनि काम फोहोर व्यबस्थापनमा समस्या आएको वातावरण अधिकृत तिवारीले बताउनुभयो । नगरपालिकाले सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणा अनुसार वडा नं. १५ मा कान्छा फोहोर मैला व्यवस्थापन र वडा नं. ६ लेकसाइडमा पोखरा फोहोरमैला व्यवस्थापन प्रा.लि.लाई फोहोर व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ । 

पोखरा उपमहानगरपालिकाले सन् २०१० मा १८ वटै वडामा गरेको सर्भे अनुसार पोखरामा कुहिने किसिमको फोहोर ६० प्रतिशत भन्दा बढि उत्पादन हुने देखाएको छ । पुन प्रयोग गर्न सकिने फोहोर ३० प्रतिशतसम्म रहने र १० प्रतिशतमात्रै ल्याण्डफिल्ड साईडमै लैजानुपर्ने देखिएको छ । फोहोरमैला व्यवस्थापन अभियानको कास्कीका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय फोहोरमैला व्यबस्थापन प्रा.ली.का अध्यक्ष यमवहादुर परियारले बर्गिकरण गरेर फोहोर छेट्याउनेले फेहोरको समेत पैसा पाउने बताउनुभएको छ । अध्यक्ष परियारले भने पोखरामा ५० टन मात्रै फोहोर उत्पादन हुने दावी गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय फोहोरमैला व्यबस्थापन प्रा.ली.ले पोखरेलीका घरघरबाट फोहोर सँकलन गरिएको फोहोरको पैसा दिने गरेको बताउनुभएको छ । प्रा.लि.ले पुन प्रयोग गर्न सकिने फोहोरबाट पशुपँक्षीलाई दाना खुवाउने भाँडा बनाउने योजना रहेको जनाएको छ । 

फोहोर मैला उत्पादनको अत्यधिक वृद्धिका कारण पोखराको सौन्र्दर्यतामा असर पर्छ नै, त्यसका अलावा पोखरेलीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने देखिन्छ । अर्गानिक फोहोरको मात्रा अत्यधिक भएका कारण फोहोरको वर्गीकरण गरी कम्पोष्ट मल बनाउन सके फोहोरको उत्पादन कम हुने विज्ञहरुले जनाएका छन् । पुनः प्रयोग गर्ने खालका फोहोर छुट्याएर बिक्री गर्न र फोहोर व्यवस्थापनका लागि सम्पूर्ण पोखरेलीको आफ्नो पनि दायित्व भएको बुझ्नुपर्ने उनीहरुको सुझाव छ । फोहोरमैला ऐन २०६८ लागू भईसकेको अवस्थामा फोहोरमैलाको व्यवस्थापनमा लापरवाही गर्नेलाई कानुन अनुसारको कारबाही कडाइका साथ कार्यान्वयन गर्नुपर्ने फोहोरमैला व्यवस्थापन अभियानको कास्कीका अध्यक्ष यमवहादुर परियारले बताउनुभयो । 

प्लाष्टिकजन्य फोहोर कम गर्ने उद्धेश्यले पोखराको १४ औं नगर परिषदबाट कालो प्लाष्टिक झोला प्रतिबन्धित गर्नुका साथै १५ औं नगर परिषद्ले २० माइक्रोनभन्दा कम मोटाईका प्लास्टिक झोला नगर क्षेत्रभित्र प्रतिवन्धित गरेको छ । त्यसको विकल्पमा लायन्स क्लबसँगको साझेदारीमा कपडाको झोला उत्पादन गरी विभिन्न आमा समूह, क्लब, टोल विकास संस्थालाई वितरण गरेको छ । समुद्री सतहबाट सात सय २७ मिटरदेखि नौ सय ८० मिटरसम्मको उचाईमा रहेको पर्यटकीय सहर पोखरा ५५ दशमलव ६६ वर्ग किलो मिटरमा फैलिएको छ । २०५८ सालको जनगणना अनुसार पोखराको जनसङख्या एक लाख ५६ हजार तीन सय १२ रहेको थियो भने ७ प्रतिशतसम्मको वार्षिक बृद्धिदरका कारणले २०६७ सालको प्रक्षेपित जनसङख्या साँढे तीन लाख रहेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete