Friday, June 1, 2012

दुध दिवस मनाईँदै, पोखरामा ७० हजार लिटर दुधको अभाव


पोखरा १९ जेष्ठ, विनोद शर्मा । 
आज जुन १ तारिख अर्थात विश्व दूध दिवस, ‘स्वच्छ, स्वस्थ एंव गुणस्तरीय दूध तथा दुग्ध पदार्थको उपलब्धता, पोषण सुरक्षामा सुनिश्चितता’ भन्ने नाराका साथ मनाइँदैछ । दूधको महत्व र यसको उपयोगिताबारे उपभोक्तालाई सचेत बनाउन दिवसले मद्धत गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताउनुभयो । बोर्डको तथ्याङ अनुसार दैनिक १५ लाख लिटर भन्दा बढी दूध उत्पादन भइरहेको छ । 

अहिले दैनिक ३ देखि ४ लाख लिटरसम्म दूध अपुग रहेकाले यस वर्षको दिवसले निर्वाहमुखी पशुपालनलाई छोडी व्यावसायिक पशुपालनमा लाग्न किसानलाई उत्प्रेरणा दिने पन्तले बताउनुभयो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफ ए ओ ले सन् २००१ जुन १ देखि यो दिवस मनाउन सुरु गरेपनि नेपालमा भने अघिल्लो वर्षदेखि मात्र मनाउन सुरु गरिएको हो ।

कास्कीमा दैनिक ६० हजार लिटरसम्म दुध आपुर्ती भैरहेपनि करिव २० हजार लिटर दुध अपुग हुने गरेको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ । कास्कीका दैनिक एक लाख लिटर क्षमताको सुजल डेरी उद्योग समेत पुरा क्षमतामा उत्पादन हुन सकेको छैन । कास्कीका किसानहरुका तर्फबाट वजारमा आउने दुध २२ हजार लिटर मात्रै रहेको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार अरु दुध कास्की आसपासका जिल्लाबाट आपुर्ती भैरहेको छ । कास्कीमा दैनिक १ लाख ५० हजार लिटर दुधको माग हुने गरेको कार्यालयको तथ्याङक छ । 

यसैवीच, भरतपोखरी गा.वि.स.को वडा नम्बर ४ भगवती चौतारामा पशुको बाँझोपन निवारण सम्बन्धी १ दिने निशुल्क शिविर भैरहेको छ । भरतपोखरी गा.वि.स., राष्ट्रिय पशु प्रजजन् केन्द र जिल्ला पशु सेवा कार्यालयको संयुक्त आयोजनामा भैरहेको शिविरमा पशुको गर्भ परिक्षण, कृतिम गर्भाधान, सिङ काट्ने, नाक छेड्ने, बाँझोपन निवारण, पशु बन्ध्याकरण, स्वास्थ्य परिक्षण तथा उपचार गरिने पशु सेवा कार्यालयका पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो । गाई भैंसीमा नश्ल सुधारको माध्यमबाट दुध उत्पादनमा बृद्धि गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको पशुसेवा कार्यालयका प्रमुख डाक्टर प्रकाशराज श्रेष्ठले बताउनुभयो ।

सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ कास्कीका अध्यक्ष पुण्य पौडेलले दुध उत्पादनमा बृद्धि गराउनका लागि सरकारी तवरबाट विशेष कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभएको छ । सरकारले प्राथमिकतामा राखेर पशुपालनका लागि आवश्यक पुर्वाधार सडक, पानी तथा विजुलीको व्यबस्था गर्नुपर्ने बताउनुभएको छ । किसानलाई उत्प्ररीत गर्नका लागि सहुलियत दरमा ऋणको व्यबस्था, औषधी उपचार र बीमाको व्यबस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । कास्कीका लेखनाथ नगरपालिकाको शिशुवा, भरतपोखरी, पुम्दीभुम्दी, घाचोक, लाचोक, कास्कीकोट र चापाकोट गा.वि.स.मा गरि ६० जना किसानले व्यबसायिक रुपमा पशु पालन गरिरहेको संघले जनाएको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete