Saturday, June 16, 2012

लामाचौरमा आईपिएम कृषक पाठशाला सम्पन्न


पोखरा असार २, विनोद शर्मा 

कास्कीको लामाचौर गाउँ विकास समितीको वडा नम्बर ५ बगैंचामा सञ्चालित १६ हप्ते आईपिएम कृषक पाठशाला सकिएको छ । एकीकृत शत्रुजिव व्यबस्थापनको माध्यमबाट करेला खेतीका विषयमा किसानहरुलाई तालिम दिईएको हो । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराको आयोजनामा भएको तालिमको दिउँसो जिल्ला कृषि विकास कार्यालयका प्रमुख बेनी बहादुर बस्नेतले समापन गर्नुभएको हो । २०६८ सालको माघ २० गतेदेखि शुरु भएको तालिममा किसानहरुले आर्एपिएम पद्धतीबाट करेला, मिटरबोडी, आईटी बोडी, भन्टा, खुर्सानी लगायतका तरकारीको खेती गरिरहेका छन् ।

माघमा लगाएको करेलामा बैशाखको १० गते आएको असिनाले पुर्ण रुपमा क्षति पुर्याएपछि किसानहरुले बैशाख १४ गते फेरी करेला लगाएका थिए । २ रोपनी क्षेत्रफलमा लगाईएको करेलामा अहिले फल लागिरहेको छ । समापन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ कृषि विकास अधिकृत बेनी बहादुर बस्नेतले समूह दर्ता गरेर कार्यालयमा साउनमा कार्ययोजना पेश गर्न किसनलाई आग्रह गर्नुभएको छ । किसानहरुले समस्या भएपनि समाधानका लागि कार्यालयमा आएर सम्पर्क नगरेको उहाँको भनाई छ । कार्यालयले यस वर्ष २७ वटा गा.वि.स.मा ग्रामिण कृषि कार्यकर्ता परिचालन गरिसकेको बताउँदै अर्को आर्थिक वर्षमा सबै गा.वि.स.मा परिचालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभएको छ । 

क्षेत्रीय माटो परिक्षण प्रयोगशाला पोखराका बरिष्ठ माटो विज्ञ ईन्द्र बहादुर ओलीले पश्चिमाञ्चलका सबै जिल्लाको माटोमा अम्लियपना रहेकोले बेलैमा माटो परिक्षण गरी उपचार गर्नुपर्नेमा जोड दिनुभएको छ । कृषक सहजकर्ता चित्रनाथ पौडेलले लामाचौरमा सिँचाईको अभाव भन्दै किसानले व्यासायिक कृषि प्रणाली अपनाउन नसकेको बताउनुभयो । उहाँले सिँचाई नभए पनि लहरेबाली र प्लास्टिक घरमा गोलभेंडा खेती गरेर राम्रो आम्दानी लिन सकिने बताउनुभयो । जैविक मल र जैविक विषादी निर्माण र प्रयोग गरि रासायनिक विषादी कम प्रयोग गर्दै जैविक विविधता संरक्षण गर्ने आईपिएम कृषक पाठशालाको उद्देश्य रहेको जिल्ला कृषि विकास कार्यालय कास्कीका बाली संरक्षण अधिकृत धन बहादुर रानाले जानकारी दिनुभयो । 

स्वस्थ्य बाली उत्पादन गर्ने, नियमित अवलोकन गर्ने, मित्रु जिव र शत्रु जिवको पहिचान र किसान आफैं दक्ष बनाउने आईपिएम कृषक पाठशालाको मुख्य सिद्धान्त हो । १६ हप्तामा किसानहरुले माटोको परिक्षण, शत्रुजिव र मित्रुजिवको पहिचान, जैविक विषादी निर्माण तथा प्रयोग लगायतका विषयमा जानकारी लिए भने प्रयोगात्मक रुपमा २ रोपनी क्षेत्रफलमा सामुहिक करेला खेती गरेका छन् । तालिममा २६ जना किसानको सहभागिता रहेको थियो । 

आजभन्दा अगाडि छेपारोलाई लहरेबालीको शत्रु भनेर मार्ने गरेका किसानले अहिले छेपारो मित्रु किरा रहेछ भन्ने बुझेका छन् । छेपारोले लहरेबाली काट्ने किरालाई खाईदिएर मानिसलाई सघाउछ भन्ने कुरा पाठशालामा सिकेको बताउनुहुन्छ किसान बाबुराम गौतम । किसानहरुले पाठशालामा जैविक विषादी बनाउने तरिका सिके अनि बनाए पनि । गाउँ घरमै हुने झारपात, जडिबुटीबाटै जैविक विषादी बनाउन जान्नुभएका किसान अव रासायनिक विषादी कहिल्यै प्रयोग नगर्ने बताउनुहुन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete