Sunday, June 10, 2012

फेवाताल र बेगनासतालमा १ लाख ५० हजार माछाका भुरा छाडिने, फेवामा १२ सय छाडियो ।


पोखरा जेष्ठ २८, विनोद शर्मा 

पोखराको पर्यटकिय फेवातालमा आज १ हजार २ सय माछाका भुरा छाडिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्की, मत्स्य अनुसन्धान केन्द्र बेगनास, मत्स्य व्यबसायि समिती फेवा र बेगनासको संयुक्त आयोजनामा भुरा छाडिएको हो । कृषि विकास कार्यालयको मत्स्य विकास शाखाको आर्थिक वर्ष २०६८÷०६९ को वार्षिक कार्यक्रम अनुसार ६० हजार रुपैंयाँ अनुदानबाट भुरा छाडिएको मत्स्य विकास शाखाका प्राविधिक सहायक लिला पंगेनीले जानकारी दिनुभयो । हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका ३० हजार भुरा छाड्ने तयारी भएपनि मत्स्य अनुसन्धान केन्द्रमा छाड्न योग्य भुरा कम भएकोले १ हजार २ सय भुरा मात्रै छादिएको कार्यालयले जनाएको छ । 

यस आर्थिक वर्ष भित्रमा कृषि विकास कार्यालय, मत्स्य अनुसन्धान केन्द्र बेगनास, मत्स्य व्यबसायि समिती फेवाले संयुक्त रुपमा १ लाख ५० हजार भुरा छाडिने मत्स्य व्यबसायि समितीका अध्यक्ष ज्ञान बहादुर जलारीले जानकारी दिनुभयो । माछा मारेर जिविको पार्जन गरिरहेका जलारी समुदायलाई आयआर्जनमा बृद्धि गराउने र तालको पारिस्थितीक पद्धती बचाउँदै वातावरण संरक्षण गर्ने उद्धेश्यले भुरा छाडिएको कार्यालयका प्रमुख बेनी बहादुर बस्नेतले जानकारी दिनुभयो । 

तालमा भुरा छाड्दै प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले उद्धेश्यले आफ्नो पेशालाई जिवन्त राख्न माछाको संरक्षणका लागि काम गर्न जलारी समुदायलाई आग्रह गर्नुभएको छ । भुरा छाड्दा तालमा माछाको घनत्वमा बृद्धि हुने र जलारी समुदायलाई आयआर्जनमा सघाएपनि फार्म सञ्चालन गरेर व्यबसायिकता तर्फ लाग्न पनि उहाँले सल्लाह दिनुभएको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्राविधिक अधिकृत राम प्रंसाद ढकालले तालमा माछाको सँख्या बढाउन साकाहारी माछाको संरक्षण गर्दै मांसाहारी तिला, पिया जातका माछालाई कम गर्नुपर्ने बताउनुभयो । कास्कीमा माछाको माग अत्याधिक भएकोले फेवामा मात्रै निर्भर नभई व्यबसायिक उत्पादनमा जोड दिनुपर्ने अधिकृत ढकालको भनाई छ । 

भुरा छाड्नका लागि जिल्ला कृषि विकास कार्यालयले ६० हजार अनुदान छुट्याएको छ भने मत्स्य व्यबसायि समितीले १ लाख ३० हजार रुपैंयाँ खर्च गर्ने भएको छ । यस वर्ष सराङकोट गाउँ विकास समितीले पनि वडा नम्बर ६ मा बसोबास गर्दै आएका जलारी समुदायको आय आर्जनमा बृद्धि गर्ने उद्धेश्यले २० हजार रुपैंयाँ भुरा छाड्नका लागि विनियोजन गरेको छ । भूमिहिन जलारी समुदायले आजको दिनलाई रोपाईको संज्ञा दिएका छन् । उनीहरुले रोपाई शुरु भएपछि यसको संरक्षणमा लागने प्रतिवद्धता समेत गरेका छन् । हर्पन फेवा मत्स्य सहकारी सँस्था स्थापना गरेर संगठित भएका उनीहरुलाई अबैध रुपमा माछा मार्ने चलनले माछा संरक्षणमा समस्या भएको छ । यो समय माछाको प्रजनन्को समय हो । माछा प्रजनन्का लागि हर्पन खोलातर्फ जान्छन् । तर अबैध रुपमा करेन्ट लगाउँदा बम पड्काउँदा प्रजनन् गर्ने उमेरका माछा पर्ने भएकोले माछाको बृद्धि रोकिन्छ । 

भुरा छाड्न प्रमुख अतिथि बनेर जानुभएका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईलाई अबैध माछा मार्ने कामलाई रोक्न आफुहरुलाई सघाउन जलारी समुदायले आग्रह गरेका छन् । फेवामा मिसिएको  सेतीनहर र शहरी ढलका कारण फेवा प्रदुषित हुँदै गएपछि जलारी समुदायमा पनि चिन्ता थपिएको छ । तालमा बढेको प्रदुषणसँगै माछा र तालमा हुने अन्य जिवजन्तु लोप हुने भन्दै आफ्ना पहलहरुलाई सहयोग गर्न पनि जलारीले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले ताल संगसँगै माछाको संरक्षण र बृद्धि गर्ने विषयमा मत्स्य ब्यबसायिलाई सहयोग गर्ने प्रतिबद्धता जनउनुभएको छ । उहाँले अबैध रुपमा माछा मार्ने क्रमलाई न्युनिकरण गर्ने विषयमा प्रशासनले सधे. सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागि हुनुभएका श्रीकम्प्लेक्स चिप्लेढुङ्गाका प्रोपाईटर झलकलाल श्रेष्ठले फेवामा उत्पादित माछाको बजारीकरणका लागि कम्प्लेक्सले पनि सहयोग गर्ने बताउनुभएको छ । व्यबसायिक रुपमा पोखरामै ठुलो मात्रामा माछा उत्पादन गरेर आयातलाई प्रतिस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । फेवा वातावरण सुधार समितीका अध्यक्ष चुँडामणी पहारीले तालमा छाडिएका भुराको स्याहार सुसारमा ध्यान दिन जलारी समुदायलाई सल्लाह दिनुभएको छ । तालमा छाडिएका भुरा बगेर जान सक्ने भएकोले तालको ड्याममा बाँध बनाउनुपर्नेमा उहाँको जोड छ । अध्यक्ष पहारीले पहिलाका माछाहरु हराउँदै गएकोमा तीनिहरुको संरक्षणमा पनि पहल गर्नुपर्ने बताउनुभयो । 

७७ जना सदस्य रहेको हर्पन फेवा मत्स्य सहकारी सँस्थाले जलारी समुदायले मारेका माछालाई संकलन गरेर वजारीकरण पनि गरिरहेको अध्यक्ष ज्ञान बहादुर जलारीले जानकारी दिनुभयो । मौसममा दैनिक १ टनसम्म माछा मार्ने गरेको र बेमौसममा डेढ क्विन्टलसम्ममात्रै मार्न सकिने सहकारीको तथ्याङक छ । 

यस्तै, भोली लेखनाथ नगरपालिकामा रहेको बेगनास तालमा पनि २५ हजार भुरा छाड्न लागिएको जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ । कार्यालयको ५० हजार रुपैंयाँ अनुदानबाट २५ हजार हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका भुरा छाड्न लागिएको हो । बेगनासमा पनि यस आर्थिक वर्ष भरीमा १ लाख ५० हजार भुरा छाडीने मत्स्य अनुसन्धान केन्द्र बेगनासले जनाएको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete