Tuesday, June 12, 2012

रासायनिक विषादी प्रयोग गर्दा ख्याल गर्नुपर्छ है ?


पोखरा जेष्ठ ३०, विनोद शर्मा 
खेतबारीमा रासायनिक विषादी प्रयोग गर्दा ख्याल गर्नुपर्ने कृषि विज्ञहरुले सुझाव दिएका छन् । रासायनिक विषादीका कारण तत्काल सकारात्मक प्रभाव परेपनि पछि हानी पुर्याउछ । कृषि बालीमा देखिएको रोगकिराको संक्रमण अनुसार कृषि प्राविधिक तथा वैज्ञानिकबाट प्रमाणित गरिएका विषादी प्रयोग गर्नुपर्ने विज्ञहरुको भनाई छ । बिक्रेताहरुले पनि रोग किरा पहिचान नभईकन विषादीको सिफारिस गर्नुहुँदैन । विषादीले सबै खालका किराको नाश गर्ने भएकोले मीत्रु किरा र शत्रु किराको पहिचान गरेर मात्रै विषादी छर्नुपर्ने क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराका बाली संरषण अधिकृत कृष्णराज खनालले बताउनुभयो । 

टिप्ने बेला भएको अन्नबालीमा विषादी छर्नु हुँदैन । यदि छर्नै पर्यो भने बाली टिप्नुभन्दा एक हप्ता अगाडि तीन दिनमा टिप्न मिल्ने खालको विषादी छर्नुपर्छ । विषादी छरेर पर्खनुपर्ने भनिएको समयमा बाली नलिएर पुरै समय कुर्नुपर्ने विषादी पञ्जिकरण तथा व्यबस्थापन शाखा ललितपुरका प्राविधिक सहायक कृष्ण प्रधानले बताउनुभयो । विषादी छर्नेवित्तिकै टिपेको तरकारी फलफुल प्रयोग गर्दा बान्ता हुने, रिँगटा लाग्ने, लर्बराउने समस्या देखिन्छ भने लामो समयपछि पक्षघात हुने, टाउको दुख्ने, मृगौलामा खराबी हुने तथा स्वासप्रश्वासमा समेत समस्या हुन्छ । त्यसैले पर्खनुपर्ने समयमा अन्नबाली नलिएर समय सकिएपछि मात्रै बाली लिन विज्ञहरुले सुझाव दिएका छन् ।

महामारीको अवस्थामा मात्रै रासायनिक विषादीको प्रयोग गर्नुपर्ने विषादी पञ्जिकरण तथा व्यबस्थापन शाखा ललितपुरका प्राविधिक सहायक कृष्ण प्रधानको भनाई छ । वनस्पति विषादी, रासायनिक विषादीभन्दा प्रयोग गर्न सजिलो, सस्तो र स्वस्थकर समेत हुनेभएकाले यसको प्रयोग गर्न किसानहरुलाई प्रधानले सुझाव दिनुभएको छ । रासायनिक विषादी छर्ने समयमा र छरिसकेपछि पनि ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

रासायनिक विषादीले उब्जनी भएको बाली कुहिने, भण्डारण गर्न नसकिने गराउँछ भने मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्दछ । त्यस्ता उब्जनी सेवन गर्दा मानिसको प्रजनन् क्षमतामा समेत ह्रास आउने वैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ । नेपालमा १४ किसिमका विषादीहरु प्रयोग गर्न प्रतिवन्ध लगाईएको विषादी पञ्जिकरण तथा व्यबस्थापन शाखाले जनाएको छ । त्यस्ता विषादीले मानव स्वास्थ्यमा पनि प्रतिकुल असर पार्ने भएकोले विषादी छर्नुअघि कृषि प्राविधिक तथा वैज्ञानिकसँग सल्लाह लिनुपर्ने विज्ञहरुको सुझाव छ । 

कृषि प्राविधिकको परामर्श नलिईकन किसानले विषादी प्रयोग गर्दा मानिस, पशु र बाली नालीमा नकारात्मक असर पर्ने गरेको छ । जथाभावी विषादी छर्दा खेतबारीमा चाहिने मित्रुजीवसमेत मर्ने हँुदा ख्याल गर्नुपर्ने विज्ञहरुले बताएका छन् । गाउँघरमा पाइने विभिन्न वस्तुलाई कीटनाशक विषादीको सट्टामा प्रयोग गर्न सकिन्छ । तर यसको उपयोगिता र प्रयोगबारे किसानलाई जानकारी नभएकाले कीटनाशक विषादीकै प्रयोग भइरहेको छ । तीतेपाती, असुरोको पात, गाईवस्तुको मुत्रलाई खेतबारीका हानिकारक कीरा मार्न प्रयोग गर्नसकिन्छ । यीबाहेक हामीले तरकारीमा प्रयोग गर्दै आएका लसुन, प्याज, खुर्सानीलाई समेत विषादीको सट्टामा प्रयोग गर्न सकिन्छ । गाउँघरमै पाइने यस्ता कृषिजन्य वस्तुको प्रयोग गर्दा रोगकीराबाट पनि मुक्ति मिल्छ भने वातावरणलाई पनि खराब असर नपर्ने जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ । विषादीको सट्टा तीतेपाती, असुराको पात, वस्तुभाउको मूत्र प्रयोग गर्दा राम्रो हुने कृषि प्राविधिकहरुको सल्लाह छ । 

यसैवीच, पोखरामा सञ्चालित कृषक स्वयंबाट विषादीको असर, लक्षण पहिचान सम्बन्धी २ दिने अभिमुखिकरण तालिम सकिएको छ । व्याबसायिक कृषि व्यापार आयोजना र कृषि विषादी पंजिकरण तथा व्यबस्थापन शाखा कार्यालय हरिहर भवन ललितपुरको आयोजना तालिम भएको हो । पोखरा बिरौटामा रहेको क्षेत्रीय वाली संरक्षण प्रयोगशालामा भएको तालिममा किसानहरुलाई विषादीको असर, यसका लक्षण, प्रयोग गर्ने तरिका र प्रतिवन्धित विषादीका बारेमा जानकारी गराइएको छ । 

तालिममा पश्चिमाञ्चलका कास्कीसँगै स्याङजा, तनहुँ र लमजुङका ५/५ जना गरि २० जना किसानको सहभागिता रहेको कृषि विषादी पंजिकरण तथा व्यबस्थापन शाखाले जनाएको छ । तालिममा विषादी पंजिकरण तथा व्यबस्थापन शाखाका प्राविधिकहरुले सहजिकरण गरेका छन् । तालिमपछि किसानहरुले रासायनिक विषादीको प्रयोगलाई न्यनिकरण गर्दै जैविक विषादीको प्रयोगलाई प्राथमिकता दिने बताएका छन् । उनीहरुले वनस्पति विषादीको रुपमा गाउँघरमै पाईने वनस्पतिहरुको प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete