Saturday, June 16, 2012

एस.एल.सी. पछि के गर्ने ?


पोखरा, विनोद शर्मा 
एसएलसी पछि विद्यार्थीमा धेरै कुराको खुल्दुली हुन्छ । जस्तै “कुन संकाय ठिक छ, विज्ञान, व्यबस्थापन की मानविकी, विज्ञानमा पनि कुन पढ्ने होला, फिजिक्स, बायोलोजी वा म्याथ ? व्यवस्थापन अध्ययन गरेका हजारौं जनशक्ति बेरोजगार भएका उदाहरण पनि छन् । बैंक, वित्तीय संस्था तथा राष्ट्रिय बहुराष्ट्रिय कम्पनीमा सधैं अहिलेकै जस्तो अवसर पनि पाइन्छ भन्ने के छ र ? अव बाँकी रह्यो मानविकी, यो त अन्तिम विकल्प हो, नजान्ने विद्यार्थीहरुले रोज्ने संकाय ।” 

कक्षा दशमा भन्दा माथील्ला कक्षाका कसरी पढाई हुन्छ होला भन्ने खुल्दुली पनि विद्यार्थीको मनमा हुन्छ । यस्तै विविध प्रश्नले विद्यार्थीको मस्तिष्कलाई तनावमा राख्छन् । फेरि नमागे पनि सल्लाह दिने पण्डितहरुको पनि कमी हुँदैन यतवेला, उनीहरु सुनेका भरमा विद्यार्थीलाई यो र उ सिकाईरहेका हुन्छन् । विद्यार्थीहरु आफ्नो रुचिको विषयमा भन्दा सल्लाह नै नमागेका पण्डितहरुको सुझावका कारण थप असमन्जसमा परेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई झन द्धिविधा हुन्छ कसले भनेको राम्रो हो भन्ने । विद्यार्थीमा सबैका कुरा सुन्ने तर आफ्नो निर्णय आफैं लिनसक्ने क्षमता भयो भने यस्ता समस्या कमै आउँछन् । सबैको कुरा सुन्नु किन पनि आवश्यक छ भने, उनीहरुमध्ये कोही एक साँच्चै नै जानकार हुनसक्छन् । कलेज छनोट गर्दा पनि धेरै कुराका ध्यान दिनुपर्ने हुन्छ । 

विद्यार्थीको रुचि महत्वपूर्ण हुन्छ । 
जसले जे भनेर सल्लाह दिए पनि कुनै विषयप्रति विद्यार्थीको लगाव छ भने उसले त्यसका बारेमा सुनेका तमाम नकारात्मक कुरा बिर्सिएर आफ्नो रुचिको विषय नै छनोट गर्नुपर्छ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा वा भोकेसनल कोर्स नै होस्, सबैमा राम्रोसँग उच्च शिक्षा हासिल गर्ने व्यक्तिले जीवनमा सफलता पाउने निश्चित छ । विद्यार्थी आफ्नो रुचिको विषयमा स्पष्ट भए उसले त्यो विषयमा राम्रो गर्न सक्छ । विद्यार्थीले आफ्नो रुचिको विषय कुन हो भन्ने थाहा पाउन नसके, पछिल्लो परिणामको मार्कसिट हेरेर रुचिको विषय थाहा पाउनसक्छ । जुन विषयमा राम्रो नम्बर आएको छ, त्यो नै विद्यार्थीको रुचिको विषय हुन्छ ।

दुई विषयमा कन्फ्युजन भए के गर्ने ?
यदि दुइटा विषयमध्ये कुन विषय छनौट गर्ने भन्ने अन्यौल छ भने उनीहरले दुइटा विषयका बारेमा प्रसस्त जानकारी हासिल गर्नुपर्छ। ती विषयमध्ये कुनमा धेरै अवसरको सम्भावना छ ? त्यस्तै दुई विषयमध्ये कुनै एकको के कुराले सो विषयप्रति विद्यार्थीलाई आकर्षित गरेको हो थाहा पाए पनि विषय छनौट गर्न सजिलो हुन्छ । दुई विषयसाग सम्बन्धित भविष्यका सम्भावनाहरुका बारेमा जानकारी लिइयो भने त्यसबाट पनि भविश्यमा कस्तो किसिमको काम गर्न तपाईंलाई रुचि हुनेछ भन्ने थाहा पाइन्छ । त्यसपछि यो समस्या पनि सहजै हल हुन्छ । 

यदि निर्णय लिन सकिरहनु भएको छैन भने कतिपय विद्यार्थीको हकमा भने उनीहरु आफ्नो रुचिको विषय कुन हो भन्ने थाहा नपाई संकाय वा विषयका रोजाइमा अलमलमा हुन्छन् । यस्तो बेलामा साइकोलिजकल टेस्ट दिएर पनि रुचिको विषयका सम्बन्धमा जानकारी लिन सकिन्छ । मनोवैज्ञानिक परामर्शदाता वा करियर काउन्सिलरहरुले साइकोलिजकल टेस्ट लिन्छन् । केही कलेजले यस्ता विज्ञहरु राखेका हुन्छन् । नभए विद्यार्थीहरुले विज्ञहरुको सम्पर्कमा गएर उक्त परीक्षण गराउन सक्छन् । 

साइकोलोजिकल टेस्ट विद्यार्थीको एप्टिच्युड टेस्ट पनि हो जसले विद्यार्थीको रुचि सहजै पत्ता लगाउनसक्छ । अनलाइन मार्फत पनि साइकोलिजकल टेस्ट दिन सकिन्छ । यसबाहेक आफूले मानेको विज्ञ शिक्षकसँग राय लिन सकिन्छ । शिक्षकले विद्यार्थीको क्षमता जानेको भएमा उसले विद्यार्थीलाई क्षमता अनुसार यो विषय अध्ययन गर भनेर सल्लाह दिन्छन् । 

भविष्यको पनि ख्याल गर्नुपर्छ ।
कुनै संकाय रोजेर त्यसमा उच्च शिक्षा हासिल गर्ने बाटोमा अघि बढेका विद्यार्थीहरुले त्यो विषय अध्ययन गरेर भविष्यमा कस्तो कस्तो संभावना वा अवसर पाइन्छ भनेर अहिले नै जानकारी लिनुपर्छ । त्यतिमात्र होइन्, संकाय छनोट जत्तिकै महत्वपूर्ण कुरा राम्रो कलेज छनोट पनि हो । महँगो शुल्क तिर्दैमा राम्रो शिक्षा पाइने अवश्य होइन् । भविष्यमा अध्ययन गर्न चाहने मेडिकल, इन्जिनियरिङ, सीएजस्ता विषय अध्ययनका लागि कहाँ गएर प्रवेश परीक्षा तयारी गर्ने, अध्ययन गर्ने भन्ने कुरालाई मध्यनजर गर्नुपर्छ ।

यसका लागि त्यो संकाय वा विषयका बारेमा सानो सानो कुरा पनि जानकारी हासिल गर्नुपर्छ । जानकारीका लागि इन्टरनेटको प्रयोग गर्न सकिन्छ । त्यसभन्दा महत्वपूर्ण कुरा आफूले जुन संकाय वा विषयका बारेमा अध्ययन गरिँदैछ त्यसबारेमा पढिरहेका विद्यार्थी वा त्यो विषय पढिसकेका विद्यार्थीसँगको अनुभव सेयरले पनि धेरै जानकारी मिल्छ । विषय वा संकाय सम्बन्धमा वास्तविक रुपमै जान्न यो भन्दा राम्रो अर्को उपाय छैन् । कुनै पनि विषयको बारेमा टाढाबाट हेर्दा अन्दाज गर्ने तरिका त्यसको गहिराईमा पुगेर भोगिने यथार्थ फरक कुरा हुन्, त्यसकारण पूर्वविद्यार्थीले त्यो भोगाइ नयाँ विद्यार्थीलाई बताउनेछन् । 

यदि पढाइमा मन छैन भने ?
संकाय रोजेर उच्च शिक्षा हासिल गर्नु एउटा विकल्प हो, तर जसलाई पढाइमा कम रुचि र अतिरिक्त क्रियाकलापमा बढी रुचि छ भने उसले भोकेसनल कोर्स लिनु राम्रो हुन्छ । नियमित अध्ययनका अतिरिक्त इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, मेकानिकल वा अन्य कुनै विषयसँग सम्बन्धित रुचि भएमा आफ्नो नजिकको सहरमा उपलब्ध पोलिटेक्निक इन्स्टिच्युटमा सम्पर्क राखेर भोकेसनल कोर्स गर्न सकिन्छ । यदि चाडै पैसा कमाउनुपर्ने बाध्यता छ भने पनि भोकेसनल कोर्स गर्नु राम्रो हुन्छ । त्यस्तो स्थितिमा सिटिइभिटीको कोर्स प्रभावकारी हुनसक्छ । 

नक्कलमा नलगाऔं अक्कल ।
यदि विद्यार्थी कसैबाट प्रभावित छ र उ जस्तै बन्न चाहन्छ भने ठीकै छ तर कसैको नक्कल गरेर उ जस्तै बन्ने अभिलाषाको नक्कलमा संकाय वा विषय छनोट गरेर उच्च शिक्षा हासिल गर्दा जोखिममा पर्न सकिन्छ । सबैमा फरक–फरक क्षमता र रुचि हुन्छ । व्यक्ति कुनै क्षेत्रमा सर्वश्रेष्ठ प्रदर्शन गर्न सफल भयो भन्दैमा त्यसको नक्कल गर्दैमा विद्यार्थी सफल हुनसक्दैन । इमान्दार ढंगले आफ्नो क्षमता आँकलन गरेर निर्णय लिनु नै राम्रो हुन्छ । 

मेडिकल, इन्जिनियरिङका अतिरिक्तका क्षेत्रहरु छन् की ?
मेडिकल र इन्जिनियरिङ क्षमतावान विद्यार्थीको रोजाइमा पर्छन भन्ने कुरामा दुइमत छैन् । यद्यपि यी दुई क्षेत्रबाहेक अन्य क्षेत्रमा क्यारियर विकास गर्न सकिँदैन भन्ने भ्रम भने नराखे हुन्छ । विश्वव्यापीकरणको आजको युगमा थुप्रै नयाँ विषयहरुसँग सम्बन्धित दक्ष जनशक्तिको माग भैरहेको छ । जुन विषयहरु अध्ययन गरेमा विद्याँर्थीले राम्रो क्यारियर भेट्टाउँछन् । होटल म्यानेजमेन्ट, एयरलाइन्स, विजनेस म्यानेजमेन्ट, बिजनेस एडमिनेस्ट्रेसन, आमसञ्चार तथा पत्रकारिता, फेसन डिजाइनिङ, एस्ट्रोनोमी, एस्ट्रोलोजी, सिए, फिल्ममेकिङ, डेरी टेक्नोलोजी, कृषि आदि अनगिन्ती क्षेत्र छन्, जसमा राम्रो क्यारियर छ । यसकारण मेडिकल र इन्जिनियरिङ अध्ययन गर्न नपाउँदैमा अवसर गुम्दैन । 

मानविकी छनौट गर्न किन असमन्जस ?
विद्यार्थीहरु जो अध्ययनमा मेधावी हुन्छन् उनीहरु विज्ञान लिएर उच्च शिक्षा हासिल गर्छन् भने औसत मेधावी विद्यार्थी व्यवस्थापन संकाय र कमजोर मानविकी संकायमा उच्च शिक्षा हासिल गर्छन् । तर यो पुरानो मान्यता भैसकेको छ । मानविकी अध्ययन गर्नेहरु सरकारी जागिरको प्रतिस्पर्धामा मात्र उपयुक्त हुन्छन् भन्ने कुरा अब गलत सावित भैसकेको छ । राम्रो शैक्षिक संस्थाबाट मानविकी संकायमा उच्च शिक्षा हासिल गरेकाहरुले विज्ञान संकाय लिएर अध्ययन गर्नेहरुभन्दा राम्रो रोजगार पाएका छन् । समाजशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, द्धन्द व्यवस्थापन, पिस एजुकेसन, ललितकला जस्ता विषयमा उच्च शिक्षा हासिल गरेकाहरुले गैरसरकारी संस्था तथा अन्य विभिन्न संस्थामा काम पाउँछन् ।

हाल नेपालको हकमा भन्ने हो भनें अर्थशास्त्रीले सबैभन्दा आकर्षक रोजगार पाउँछन् । भाषा शिक्षामा अंग्रेजीमा स्नातकोत्तर गर्नेले बेरोजगार बस्नु पर्दैन । यदि विद्यार्थीले एसएलसीमा ७० प्रतिशतभन्दा बढी स्कोर गरेर पनि उसलाई मानविकी संकायमा जाने मन छ भने उसले आफूलाई द्धिविधामा नराखी त्यो विषयमा राम्रो गर्छु भनेर अघि बढ्नुपर्छ । यस्तो बेलामा दबाबमा आएर विज्ञान संकाय रोज्नु दुर्घटनाको शिकार बन्ने कारण हुनसक्छ । विद्यार्थीले मानविकी संकाय रोजे भनेर हिन भावना राख्नुहुदैन किनभने यो विषयमा पनि उत्तिकै अवसर छन् । 

व्यवस्थापन संकाय जहाँ धेरै सम्भावना छन् ।
व्यवस्थापन संकाय अधिकांश विद्यार्थीले रोज्ने संकाय हो । एसएलसीमा औसत विद्यार्थी धेरै उत्तिर्ण हुने भएकाले र औसत विद्यार्थीले व्यवस्थापन संकाय रोज्ने भएकाले पनि यो संकायमा धेरै भएका हुन् । व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरेकाहरु व्यवस्थापकीय कार्यहरुका लागि दक्ष मानिन्छन् । बैंक, वित्तीय संस्था, राष्ट्रिय बहुराष्ट्रिय कम्पनी, विभिन्न संघसंस्थाहरुमा व्यवस्थापनका दक्ष जनशक्ति आवश्यक मानिन्छन् । विद्यार्थीले व्यवस्थापन संकायमा पनि राम्रो अध्ययन गरेर आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने हुन्छ । शिक्षाविद्हरुका अनुसार कतिपय विद्यार्थी सजिलोका लागि प्लस टुमा फाइनान्स नरोजेर मार्केटिङ रोज्छन्, जसले गर्दा उनीहरुले भविष्यमा फाइनान्सियल अर्गनाइजेसनमा कम महत्व पाउँछन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete